दैनिक हजारौं पर्यटकहरु आउने भ्यु पोइन्टमा शौचालयको अभाव
खरसाङ: खरसाङको गिध्द पहाड़स्थित गिध्दे भ्यु पोइन्ट अहिले पर्यटकहरूको लागि मुख्य आकर्षणको केन्द्र बिन्दु बनेको छ। खरसाङ बजारदेखि लगभग ३-४ किलोमिटर टाड़ोमा रहेको गिध्दे भ्यु पोइन्टमा यो समय टाड़ा नजिकका पर्यटकहरू दैनिक रूपमा धेरै मात्रामा आउने गरेका छन्। पहाड़ घुम्न आउने पर्यटकहरू खरसाङको विभिन्न पर्यटकीय स्थलहरूमध्ये गिध्दे भ्यु पोइन्टमा प्रथममा नै आउने गरेका छन्। यहाँ घुमेर मात्रै अन्य स्थानहरूतिर जाने गरेको देखिएको छ। अहिलेको समय गिध्दे भ्यु पोइन्टमा दैनिक ३ हजारदेखि ३५ सय पर्यटकहरू घुम्न आउने गरेको जानकारी प्राप्त भएको छ। गिध्दे भ्यु पोइन्ट पर्यटकहरू दैनिक रूपमा प्रशस्त रूपमा घुम्न आउने कारणहरूमा यहाँबाट ३६० डिग्री भ्यु देख्न सकिने, पहाड़ र मधेशको संगम स्थलको रूपमा यो भ्यु पोइन्ट रहेका छन्। यहाँबाट पर्यटकहरूले पहाड़को पहाड़ श्रंखलाहरूसितै मधेशको मनोरम दृश्यहरू अनि टिस्टा, महानन्दा, बालासन, मेची नदीको दृश्यहरू पनि देख्न सक्छन्। यसको साथै खरसाङ, मिरिक, नेपालको पर्वत श्रृंखलाहरू, घैयाबारी, महानदी, सिविटार, रोहिणी, सिटोङका डाँडाहरू र मनोरम प्राकृतिक दृश्यहरू देख्न पाउँछन्। यसको अतिरिक्त भ्यु पोइन्टक नजिकै नेताजी सुवासचन्द्र बोसको म्युजियममा पनि पर्यटकहरू गएर नेताजीसित सम्बन्धित विभिन्न विषयहरूमा जानकारी लिन सक्छन्। गिध्दे भ्यु पोइन्टको मुनितिर रहेको सुन्दर चियाबारी र ढुङ्गाहरू थुम्काहरूले पर्यटकहरूलाई मोहित बनाउने गर्छ र नै पर्यटकहरू यहाँ प्रशस्त रूपमा आउने गरेका छन्। सन् २०१६ मा नै लगभग १ करोड़ ९२ लाखभन्दा बेसी लागत खर्चमा यो गिध्दे भ्यु पोइन्टको सुन्दरीकरणको कार्य समाप्त गरिएको थियो। अहिले भ्यु पोइन्टमा बिहानदेखि गाडीको गाडीको पर्यटकहरू आउने गरेको छ। भ्यु पोइन्टसितै नजिकैमा रहेको नेताजी म्युजियमको पनि परिदर्शन गर्न पर्यटकहरूलाई धेरै आनन्द दिने गरेको छ। यो प्रसिध्द बन्दै पर्यटकीय स्थल गिध्दे भ्यु पोइन्टमा शौचालयको भने अभाव छ। शौचालय नभएकोले पर्यटकहरूलाई धेरै असुविधा भईरहेको जानकारी पाइएको छ। यस दिशातर्फ स्थानीय सरकारले कार्य गरे अझ पर्यटकहरूलाई सुविधा हुने देखिएको छ। यसको साथै यही भ्यु पोइन्टको मुनितिर रहेको रोपवेको काम पनि सुचारू भएर गिध्द पहाड़देखि रोहिणीसम्म रोपवे सञ्चालन भए यहाँ अझ पर्यटकहरूको घुइँचो लाग्ने स्थानीयहरू दोकानदारहरूले बताएका छन्। यहाँ कोलकोताबाट घुम्न आएका अरूणिमा सेन गुप्ता र एके शाहले यो भ्यु पोइन्टबाट ३६० डिग्रीको भ्यु देख्ने र यहाँ शान्ति महसुस हुने भएकोले यो ठाउँ एकदमै सुन्दर लागेको बताएका छन्। उनीहरूले यहाँको माहोल एकदमै राम्रो शान्तिपूर्ण रहेको साथै मानिसहरू पनि धेरै राम्रो रहेको बताएका छन्। उनीहरू आज यहाँ घुम्न आएको र यहाँबाट सिटोङ जाने बताएका छन्। त्यसरी नै यो भ्यु पोइन्ट परिसरमा दोकान थापेर बसेका दोकानेहरूले यहाँ दैनिक ३ हजारदेखि ३५ सय पर्यटकहरू आउने गरेको बताउँदै पर्यटकहरू बेसी आएको बेला दोकान पनि राम्रो चल्ने गरेको र रोजगारी पनि चलिरहेको बताएका छन्। उनीहरूले पर्यटकहरू निक्कै बेसी आएको समय कमाई पनि राम्रो हुने गरेको बताउँदै यहाँ दैनिक १५ सयदेखि २ हजार अनि कोही बेला ३ हजारसम्म कमाई हुने बताएका छन्। दोकानेहरूले यहाँ शौचालय निर्माण नभएको कारणले पर्यटकहरूलाई धेरै असुविधा भईरहेको बताउँदै यहाँ पर्यटकहरूका लागि शौचालय निर्माण भएको खण्डमा पर्यटकहरूलाई धेरै सुविधा हुने तथा रोपवे पनि चाढ़ै निर्माण भएर सञ्चालन भएको खण्डमा पर्यटकहरूको आगमन अझ बढेर जाने बताएका छन्। यसै क्रममा अर्को एकजना स्थानीय दोकानदारले बताए अनुसार अहिले निक्कै पर्यटकहरू आईरहेका छन् र यहाँको रोपवेको निर्माण कार्य पुरा भएर सञ्चालन भए झनै पर्यटकहरू यहाँ आउने पनि बताएका छन्। उनले यहाँ चाढै शौचालय निर्माण हुन गइरहेको बताउँदै रोपवेको काम पनि अब यही महिना दिसम्बरदेखि शुरु हुने बताएका छन्।










