बुर्तुक महाविद्यालयमा एक दिने युवा सचेतना कार्यक्रम

IMG-20231201-WA0000.jpg

गान्तोक: सरकारी महाविद्यालय बुर्तुकमा आज जीवन अनि शिक्षाको उचित मार्ग एवं सत्यमाथि आधारित एकदिने युवा सचेतना कार्यक्रम सम्पन्न भयो। मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङको मुख्य आतिथ्यमा सम्पन्न यस कार्यक्रममा सिक्किम मणिपाल विश्वविद्यालयका राजनीतिक विज्ञान प्रभागीय प्रमुख डा. अनमोल मुखिया, नेपालबाट आएका प्रेरक वक्ता पास्टर बोनी तामाङ, बुर्तुक महाविद्यालयका प्रिन्सिपल डा. आयता महाराणा उप्रेती लगायत अन्यको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि जेकब खालिङले जीवनको अर्थ बुझ्नेहरूको निम्ति जीवन अति नै रमाइलो, प्रेमिल अनि सुन्दर रहेको विचार साझा गरे। जीवनको अर्थ बुझ्न शिक्षा एक माध्यम रहेको उनले मन्तव्य पोखे।

थ्राइभ मन्त्रालयको पहलमा आयोजित आजको कार्यक्रममा अन्य प्रेरक वक्ताहरूले पनि युवा विद्यार्थीहरूलाई प्रेरित गर्न वक्तव्यहरू दिए। प्रेरक वक्ताको रूपमा कार्यक्रमलाई सम्बोधन गर्दै नेपालबाट आएका पास्टर बोनी तामाङले जीवनमा सबैभन्दा महत्व दिनुपर्ने व्यक्ति आफू स्वयं रहेको अनि सपना देख्नेले नै त्यो पूरा गर्नु सक्छ भन्दै आफ्नो अनुभव साझा गरे।

अर्का प्रेरक वक्ता डा. अनमोल मुखियाले शिक्षा जीवनको अभिन्न अंग रहेको अनुभव साझा गरे। शिक्षाले जीवनमा जागृतिको प्रकाश ल्याउने उनले विचार पोखे। “शिक्षाको जरा तीतो हुन्छ, तर शिक्षाको फल मीठो हुन्छ’’ भन्ने महान दार्शनिक अरस्तुको भनाइलाई उदृत गर्दै उनले आफ्नो जीवनलाई प्रत्येक तहबाट हेर्नुसक्नुपर्ने सुझाउ राखे। महाविद्यालयका प्रिन्सिपल डा. उप्रेतीले सकारात्मकता अनि नकारात्मकता हामीभित्रै रहेको बताइन्। कुन कुराले हाम्रो जीवनलाई प्रभावित बनाउनु भन्ने कुरा हामीभित्रै रहेको बताइन्। सदैव हामीभित्र रहेका सकारात्मकतालाई अघि बढ़ाएर लैजानुपर्ने उनले सुझाउ दिइन्।

कार्यक्रममा महाविद्यालयका विद्यार्थीहरूले गीत, नृत्य अनि कुलतले युवा अवस्थामै हाम्रो जीवन कसरी बिग्रिन्छ भन्ने सन्देशमूलक नाटक पनि प्रस्तुत गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement