साकेवा पर्व पालनलाई लिएर आयोजक समितिद्वारा मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेट

IMG-20230410-WA0169-11-300x172-9

गान्तोक: अखिल किराँत राई संघ, सिक्किमको तत्त्वावधानमा आयोजन गरिने साकेवा पर्वको आयोजन समिति २०२३ का प्रतिनिधिहरूले आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनकै सरकारी निवास मिन्तोकगाङमा भेट गरे।

यस प्रतिनिधि टोलीमा आयोजन समितिका अध्यक्ष भोजराज राई, अखिल किराँत राई संघ, सिक्किमका अध्यक्ष मोहन दुङ्माली, मूल सचिव आरके वालिङ अनि आयोजन समितिका सदस्यगण लगायत किराँत समुदायका वरिष्ठ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

साकेवा पर्व आयोजन समिति २०२३ द्वारा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई आगामी २६ दिसम्बर, २०२३ को दिन नाम्चीमा आयोजन गरिने साकेवा महोत्सवमा मुख्य अतिथिको रूपमा उपस्थित भइदिने निम्तो दिइयो। सो निम्तोलाई मुख्यमन्त्रीले सहर्ष स्वीकार गरेका छन्। उनले आफ्नो धर्मपत्नी कृष्ण राईसँगै सो महोत्सवमा उपस्थित हुने आश्वासन दिएका छन्।

मुख्यमन्त्री तामाङले समुदायको समृद्ध संस्कृति झल्काउने यस महोत्सवलाई भव्यताका साथ मनाउन अनि युवाहरूलाई यसमा सामेल गर्न आग्रह गरेका छन्। उनले राई समुदायको महत्वपूर्ण पर्व भव्यताका साथ सम्पन्न गर्न महोत्सव समितिलाई पूर्ण सहयोग गर्ने आश्वासन दिएका छन्। योसँगै उनले कार्यक्रमलाई राजनीतिकरण गर्न नहुने पनि सुझाउ दिएका छन्।

आजको यस सौहार्द्रपूर्ण भेट अवधि मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, नाम्चीका जिल्ला पञ्चायत अध्यक्ष अञ्जिता राजालिम, पार्षद कला राई, राज्य खाद्य आयोगका अध्यक्ष डा. एसके राई, अध्यक्ष सतीश राई, नाम्ची नगर परिषद्का अध्यक्ष गणेश राई, अखिल किराँत राई संघ, सिक्किमका सदस्यगण अनि समुदायका युवाहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement