चियामा मादक पदार्थ मिसाएर चालकलाई बेहोश गरेपछि टोटो लुट्ने प्रयास

IMG-20230528-WA0320-5-300x172-9

खोरीबारी: चियामा मादक पदार्थ मिसाएर टोटो चालकलाई बेहोश गरेर टोटो लुट्ने तथा हत्या गर्ने प्रयास गरेको अभियोग उठेको छ। यस घटनामा पुलिसले दुईजनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा नजरूल इस्लाम र जनाब अली सामेल छन्। तिनीहरू फुलबारी र न्यु जलपाईगढी निवासी हुन्। प्राप्त जानकारी अनुसार गत साँझ खोरीबारी थाना अन्तर्गत पानीट्याङ्कीमा दिलीप छेत्री नाम गरेका एकजना टोटो चालकको टोटोमा दुईजना व्यक्ति चढेका थिए। यसपछि खोरीबारीको किलाघाटा इलाकामा एउटा चिया दोकानमा टोटो रोकेर ती दुईले मादक पदार्थ मिसाएको चिया चालक दिलीपलाई खुवाएपछि तिनी बेहोश भए। यसपछि ती दुईजनाले चालकलाई बाघडुग्रा इलाकाको चियाकमानमा फ्याँकिदिएर टोटो लिएर चम्पट कसिरहेको बाघडुग्रा थाना पुलिसले पेट्रोलिङ अवधि देखेपछि पुलिसले पहिला एकजनालाई पक्राउ गरे। पछि फेरि अर्का एकजनालाई पक्राउ गरेको बताइएको छ। टोटो चालक दिलीप छेत्रीको आरोप अनुसार हत्या गर्ने उद्देश्यले ती दुई बदमाशले तिनलाई सुनसान चियाकमान इलाकामा लगेको थियो। टोटो चालकको भाइ प्रदीप छेत्रीले बताएअनुसार भाडा लिएर दाजु किलाघाटा गएको सुनेको थिए। तर अबेर रातिसम्म दाजुको कुनै पत्तो नलागेको साथै तिनको फोन पनि बन्द रहेकोले आफूहरू चिन्तित थियौँ। यसपछि यताउता तिनको खोजी गर्दा पुलिसले दाजुलाई उद्धार गरेको थाहा पाए। तिनले पुलिसको भूमिकाको प्रशंसा गरे।

About Author

Advertisement