गान्तोक: पत्रकार एरोन राई ‘ग्रामीण पत्रकारिता पुरस्कार २०२३’ ले सम्मानित भएका छन्। राजधानीको चिन्तन भवनमा आज पालन गरिएको राष्ट्रिय प्रेस दिवस कार्यक्रममा पत्रकार राईलाई प्रेस क्लब अफ् सिक्किमले उक्त पुरस्कारले सम्मानित गरेको हो।
आईपीआर विभागले आयोजना गरेको राष्ट्रिय प्रेस दिवस कार्यक्रममा सम्बन्धित विभागका मन्त्री बीएस पन्त मुख्य अतिथि थिए। मुख्य अतिथिको बाहुलीद्वारा पत्रकार राईलाई सम्मान स्वरूप अंगवस्त्र, नगद बीस हजार रूपियॉं र सम्मान पत्र अर्पण गरियो। पत्रकार एरोन राई सोशियल मिडिया प्लेटर्फ ‘स्वतन्त्र आवाज’ का संस्थापक हुन्।
उल्लेखनीय छ, आईपीआर विभागले हरेक वर्ष आयोजन गर्ने राष्ट्रिय प्रेस दिवसको अवसरमा प्रेस क्लब अफ् सिक्किमले एकजना पत्रकारलाई ‘ग्रामीण पत्रकारिता पुरस्कार’ ले सम्म्मानित गर्ने गर्दछ।
प्रेस क्लबका अध्यक्ष शेखर खवासले आफ्नो सम्बोधनमा मुख्यमन्त्री प्रेमसिंह तामाङ र सिक्किम सरकारले पत्रकारहरूको निम्ति गर्दै आएका सहयोगहरूको निम्ति कृतज्ञता व्यक्त गरे। उनले सरकारद्वारा प्रेस क्लबलाई प्रदान गरिएको भवनको अझै पनि छिनोफानो हुन नसकेको जानकारी गराउॅंदै मन्त्रीलगायत सम्बन्धित निकायहरूको ध्यान आकर्षित गराएका थिए।
स्मरण रहोस्, हरेक वर्ष १६ नोभेम्बरमा राष्ट्रिय प्रेस दिवस पालन गर्ने गरिन्छ। तर, यसपाली तिहारको तत्कालपछि सो दिवस परेको हुॅंदा पालन गर्न सकिएको थिएन।








