सोनादा: सोनादा डिग्री कलेजको राजनीति विज्ञान विभागद्वारा राजनीति विज्ञान विषयक दुइ दिवसीय प्रदर्शनी कलेजको प्रेक्षागृहमा सम्पन्न भयो। कलेजका शिक्षक प्रभारी डा रागिनी थापाले रिबन काटेर प्रर्दशनीको उदघाटन गरेकी थिईन्। कलेजको राजनीति विज्ञान विभागका प्रमुख प्रा. सुशिला बराईली लगायत प्रा अनुपमा तामाङ, डा. कोमल कौशिक बराल, प्रा. श्वेता प्रधानको कुशल निर्देशन र दर्शनशास्त्र विभागको प्रा. पेञ्चुला भोटियाको सहयोगमा सम्पन्न भएको उक्त प्रदर्शनीमा राजनीति विज्ञान विभागका प्रथम, तेस्रो र पाँचौं सत्रका विद्यार्थीहरूद्वारा क्षेत्रीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका राजनीतिका प्रमुख घटनाहरूमा आधारित तयार पारिएका विभिन्न मोडल तथा वृत्त चित्रहरू आकर्षणीय रहेका थिए।विश्वका ठूल्ठूला राजनैतिक सिद्धान्त, राजनैतिक घटनावली तथा विविध राजनैतिक मुद्दाहरूलाई प्रदर्शित गरिएको उक्त प्रदर्शनीमा प्रत्येक मोडल तथा चित्रहरुले राजनैतिक इतिहासलाई दर्शाएका थिए। वर्तमानमा चलिरहेको फिलिस्तिन(प्यालेस्टाइन) र इज्रायलमाझ भएको युद्धको कारक तत्व लगायत भारतीय संसदमा पारित महिला बीलमाथि तथ्यपरक जानकारीहरूदेखि लिएर क्षेत्रीय स्तरका राजनैतिक मुद्दा तथा राष्ट्रिय- अन्तर्राष्ट्रिय स्तरका राजनैतिक आन्दोलनहरूका उत्स र इतिहासलाई पनि खूबै स्पष्ट ढङ्गमा प्रदर्शित गरेका थिए। प्रथम, तेस्रो र पाँचौं सत्रका विद्यार्थीहरूकामाझ प्रतियोगितात्मक ढङ्गमा गरिएको उक्त प्रदर्शनीमा विद्यार्थीहरूद्वारा तयार गरिएका ती विभिन्न मोडल, वृत्त चित्रहरूलाई प्रा. प्रमोद छेत्री, प्रा पेञ्चुला भोटिया, प्रा. विशाल थापा, उत्तमा सुन्दास आदिले निर्णायकको रुपमा निरीक्षण र मूल्याङ्कन गरी पाँचौं सत्रका विद्यार्थीहरूद्वारा तयार पारिएका मोडल तथा विभिन्न वृत्त चित्रहरूलाई प्रथम घोषणा गरेका थिए। ती विद्यार्थीहरूलाई पारितोषिक पनि प्रदान गरिएको थियो। उक्त प्रदर्शनीमाथि डा. रागिनी थापा, प्रा. प्रमोद छेत्री, प्रा. डिच्छेन यल्मो र उत्तमा सुन्दास आदिले समीक्षात्मक टिप्पणी दिएका थिए। प्रदर्शनीको सफलतामा साथ दिने र सहभागिता दर्शाउने कलेजका प्राध्यापक- प्राध्यापिकाहरू अशिक्षण कर्मीहरु र विद्यार्थीहरू सबैलाई प्रा. सुशिला बराईलीले धन्यवाद दिएकी थिईन् भनी प्रा. मेघनाथ छेत्रीले जानकारी दिएका छन्।









