दार्जिलिङ: जीटीए क्षेत्रमा वर्तमानमा रहेको ९ वटा खण्ड विकास ब्लकहरूलाई बढाएर १२ वटा ब्लक बनाउने प्रस्ताव पारित गरिएको छ। यस विषयमा एक प्रेस विज्ञप्ति जारी गर्दै जीटीए प्रमुख कार्यपाल अनित थापाले भने, ‘केही समय पूर्व मैले पञ्चायत अनि ग्रामीण विकास विभागका सचिवसँग जीटीए क्षेत्रका तीनवटा ब्लक कालेबुङ जिल्लाभित्र गोरुबथान विकास ब्लक, दार्जीलिङ जिल्लाभित्र दार्जिलिङ पुलबजार विकास ब्लक र जोरबङ्लो-सुखियापोखरी ब्लक गरी ३ (तीन) सामुदायिक विकास ब्लकहरूलाई विभाजन गर्ने कुरामाथि निकै लामो चर्चा गरेको थिए। उहाँले मेरो कुरालाई गम्भीरतापूर्वक लिनु भएको थियो। आज मैले हाम्रो चर्चालाई अघि बढाउँदै वर्तमान ३ वटा खण्ड विकास ब्लकलाई विभाजन गरेर ६ वटा खण्ड विकास ब्लक बनाईने प्रस्ताव पठाएको छु।”
विभाजन पश्चात गोरूबथान, जलढका, बिजनबारी, लेबोङ, सुखिया पोखरी अनि सोनादामा खण्ड विकास कार्यालय रहनेछ।
वर्तमान जीटीए क्षेत्रमा ९ वटा खण्ड विकास ब्लक छन्। विभाजन पश्चात १२ वटा ब्लक हुनेछ। खण्ड विकास ब्लकको विभाजन किन गर्नु पर्ने आवश्यकतामाथि तर्क राख्दै अनित थापाले भने, प्रस्तावमा भनेको छु कि आज ६८ किलो मिटरको ठूलो दुरी एक साधारण नागरिकले पार गरेर ब्लक हेड क्वार्टरसम्म पुग्नु पर्ने अवस्था रहेको छ जसले गर्दा शक्तिको विकेन्द्रीकरणको उद्देश्य नै असफल हुन्छ। विकास ब्लकहरूको विभाजनले प्रभावकारी स्थानीय शासनलाई मद्दत दिनेछ। ग्रामीण विकासमा नागरिकहरूको सहभागिता बढ्नेछ। सरकारका लक्षित विकासका पहलहरू प्रभावकारी हुनेछ। जवाफदेहिता र पारदर्शितामा सुधार आउनेछ। समय अनुसार निर्णय लिने क्षमता राख्नेछ अनि स्थानीय समुदायको सशक्तीकरण बढेर जानेछ।’ उनले अघि भनेका छन् -‘बीजीपीएम पार्टीले आफ्नो चुनावी घाेषणा पत्रमा ठूला खण्ड विकास ब्लकहरूलाई विभाजन गरेर साना साना खण्ड विकास ब्लक बनाउने घोषणा अनुसार नै ब्लकको विभाजनको पहल सुरु गरेको हुँ। हामी कर्ममा विश्वास राख्ने राजनैतिक दल हौं। जनताको सुख सुविधामाथि हाम्रो ध्यान जहिले पनि रहेको छ। जनताले हामीलाई सत्तामा राखेका छन्। जनताको निम्ति नै हामी काम पनि गर्दैछौं। राजनीति केवल कुर्सीको निम्ति नभएर जनताको निम्ति हामी राजनीति गर्छौ।”









