गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नाम्ची जिल्ला अन्तर्गत राभाङ्लामा आयोजित तीन दिवसीय राभाङ्ला पुनः आविष्कार पर्यटन महोत्सवको समापन कार्यक्रममा सहभागिता जनाए।
यस अवधि उनले त्यहाँ छो जो मनोरञ्जन केन्द्र अनि पार्क परिसरमा ‘आई लभ राबोङ’ को पनि उद्घाटन गरे।
राबोङ पर्यटन विकास समितिको तत्वावधानमा आयोजित यस तीनदिने कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले राभाङ्लाको छो जो झील महोत्सव अनि पाङ्ल्हाब्सोल महोत्सव खुबै प्रभावित रहने गरेको बताए। आफू पूर्वमा खेलकूद विभागीय मन्त्री रहँदा आफूले १५-१५ दिनसम्म राभाङलामा आएर यी दुई महोत्सवमा सहभागी बनेको पनि स्मरण गरे।
यसपाली आयोजन गरिएको ३ दिने पर्यटन महोत्सवमा राबोङलाई पुनः आविष्कार गरौं भन्ने ध्येयले जुन पहल गरियो यो अति नै सराहनीय रहेको मुख्यमन्त्रीले बताए। यस्तो महोत्सवलाई केवल मनोरञ्जनको उद्देश्यले हेर्नु नहुने उल्लेख गर्दै यस अवधि राभाङ्ला, बर्फुङ समष्टिमा भएका विभिन्न पर्यटन स्थलहरूको खोजी गरेर पर्यटकहरूको ध्यान केन्द्रित गर्नुपर्ने मुख्यमन्त्रीले आह्वान गरे। यसरी प्रचार-प्रसार गर्नु सकिए, सिक्किम राज्यमा पर्यटकहरूको अझ घुइँचो लाग्ने मुख्यमन्त्रीले सम्भावना व्यक्त गरे।
पर्यटकहरूलाई कसरी राभाङ्ला क्षेत्रमा २-३ दिनसम्म रोकेर राख्नुसकिन्छ भन्नेबारे हितधारकहरूले विशेष पहल गर्नुपर्ने थप सुझाउ दिए। हाल पनि सिक्किम राज्यको जनसंख्याभन्दा अधिक प्रतिवर्ष पर्यटकहरू आउने गरेको मुख्यमन्त्रीले जानकारी साझा गरे। विश्व पर्यटनले २०२४-मा राम्रोसँगले घुम्नसक्ने विश्वका ३० वटा स्थलमा सिक्किमलाई सामेल गरेको मुख्यमन्त्रीले बताउँदै यसको निम्ति सबै हितधारकहरूलाई बधाई एवं शुभकामना दिए।
कानून व्यवस्था सुव्यवस्थित रहेको साथै सबै हितधारकहरूले पर्यटकहरूको आतिथ्यमा उल्लेख्य भूमिका निर्वाह गरेको हुनाले नै यो सम्भव भएको उनले बताए। पर्यटन क्षेत्र स्वतन्त्र रहेको उल्लेख गर्दै यसमार्फत उद्यामीहरूले असीमित कमाई गर्नसक्ने विचार पोखे। भाले ढुंगाको रोप वे-को उद्घाटनपछि अब त्यहाँ २२० करोड़को लागतमा स्काई वल्क निर्माण गरिने मुख्यमन्त्रीले अवगत गराए। नोकरीमा भन्दा अधिक आय व्यवसायमा रहेको मुख्यमन्त्रीले उल्लेख गर्दै स-साना उद्यमीहरूलाई राज्य सरकारले आर्थिक सहयोग प्रदान गरिरहेको जानकारी गराए।
कार्यक्रममा मन्त्री एमएन शेर्पा, बर्फुङ समष्टिका विधायक एवं समारोह समितिका प्रमुख संरक्षक टीटी भोटिया, नाम्ची जिल्ला पञ्चायत अध्यक्ष अञ्जिता राजालिम, विधायकगण, पूर्व मन्त्रीगण, विधायकगण लगायत अन्यको उपस्थिति रहेको थियो।









