गान्तोक: सिटिजन एक्शन पार्टीले आगामी २०२४को विधानसभा चुनाउमा आफ्नो मुख्यमन्त्री उम्मेद्वार चयन गरेको छ। पार्टीले विज्ञप्ती जारी गरेर बताएअनुसार विष्णु चामलिङको अध्यक्षतामा गठित १२ सदस्यीय मुख्यमन्त्री उम्मेद्वार चयन समितिले पाँचवटा धारावाहिक बैठक गरेर यो नामको सिफारिश गरेको हो।
विज्ञप्तीमा थप बताइएअनुसार मुख्यमन्त्री उम्मेद्वारका लागी पार्टीका तीनजना शीर्ष नेतृत्वको नाम अघि आएको थियो जसमाथि समितिले विभिन्न पक्षमा गहन चिन्तन गरेर अन्तिम नाममा मोहर लगाएको हो। तर, पार्टीले अहिले नै मुख्यमन्त्री उम्मेद्वारको नाम भने सार्वजनिक गरेको छैन। पार्टीको एक विशेष सूत्रले बताएअनुसार चाँड़ै कुनै विशेष अवसरमा यो नाम सार्वजनिक गरिनेछ।
चयन समितिले उम्मेद्वारको नामको प्रस्ताव र अन्तिम बैठकको सम्पूर्ण प्रतिवेदन पार्टी अध्यक्ष र मुख्यालयमा बुझाएको छ। उल्लेखनीय छ, सिटिजन एक्शन पार्टीले यस अघि पार्टी अध्यक्षको चयन पनि यसरी नै प्रजातान्त्रिक ढङ्गमा गरेको थियो।










