सिक्किम पुलिसले पालन गऱ्यो १२७औं स्थापना दिवस

IMG-20231127-WA0250.jpg

गान्तोक: २७ नोभेम्बर १८९७मा स्थापित सिक्किम पुलिसले आज आफ्नो १२७औं स्थापना दिवस पालन गऱ्यो। यस अवसरमा राजधानीदेखि केही माथि पाङ्गथाङ पुलिस ग्राउण्डमा भव्य कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सिक्किम पुलिसका महा निदेशक एके सिंह मुख्य अतिथि रहेका थिए। स्थापना दिवसको अवसर पारेर चारजना पुलिस अधिकारीलाई उनीहरूको सराहनीय सेवा कार्यको लागी मुख्यमन्त्री पुलिस पदक प्रदान गरियो जसमा आइजीपी खिल वर्ण कुमार, एसपी विशाल राई, सीबी तुला राम छेत्री र कम्यूनिकेशन एवं कम्पयूटरका पोपो भोटिया रहेका छन्।

कार्यक्रम अवधि स्पेश्यल टास्क फोर्स र इण्डियन रिजर्भ बटालियनले भीआइपी-हरूको सुरक्षा र आत्म रक्षाका विभिन्न तरकिबको प्रदर्शनी गऱ्यो भने सिक्किम पुलिसको पाइप ब्याण्ड र ब्रास ब्याण्डले मार्च पास्ट पनि गरेको थियो। कार्यक्रमको प्रमुख आकर्षण भने एसएपी र आइआरबी बीचको भलिवल प्रतियोगिता रहेको थियो जसमा एसएपी विजयी बन्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै डीजीपी एके सिंहले राज्यको कानून व्यवस्था बनाइराख्न सिक्किम पुलिसको सबै तहका अधिकारी र सिपाहीले पुऱ्याउँदै आएको योगदानको उल्लेख गर्दै स्थापनी दिवसको बधाई एवं शुभकामना दिए। उल्लेखनीय छ, १८९७मा पूर्व सिक्किमको आरिटारमा एक हेड कन्टेबल र पाँच कन्टेबलको साथमा सिक्किम पुलिस विभागको स्थापना गरिएको थियो जुन सङ्ख्या अहिले बड़ेर ६ हजार पुगेको छ।

आजको कार्यक्रममा सिक्किम पुलिसका विभिन्न शीर्ष पदका अधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement