उत्तर सिक्किमको टिस्टा प्रभावित क्षेत्रमा खाद्य भण्डारण शुरू

IMG-20231127-WA0246.jpg

मंगन: गत ४ अक्टोबरको दिन मंगन जिल्लाको उत्तरी भागमा रहेको लोनाक झीलबाट आएको अत्यधिक पानीले चुङथाङ बाँध पूर्ण रूपले क्षतिग्रस्त बनाएपछि टिस्टा नदीमा आएको विनाशकारी बाढ़ले प्रभावित क्षेत्रहरूमा जन वितरण प्रणाली अर्थात् पीडीएस राशन आयत अनि भण्डारण कार्य शुरु गरिएको छ। साङ्कालाङ, साफो, सिप्ग्येर, पेगोङ हुँदै चुङथाङ, लाचुङ अनि लाचेन जुम्सामा गत २५ नोभेम्बरको दिन नै पिक-अप भ्यानमार्फत राशन वितरणको निम्ति पठाइएको छ। यी सड़कमार्ग भएर हाल ठूला वाहनहरू गुड़्न दिइएको छैन, यसर्थ पिकअप भ्यानमार्फत सो राशन लगिएको हो।

मंगनका जिल्ला जन वितरण अधिकारी पाल्देन एन. लाचुङ्पाद्वारा प्राप्त जानकारी अनुसार, शुरुमा चुङ्थाङ, लाचुङ र लाचेन जुम्साको मासिक आवण्टन अनुसार पीडीएस सामग्री (चामल र आटा) चुङ्थाङ खाद्य गोदाममा ढुवानी र भण्डारण गरिनेछ। त्यसपछि लाचेनको मासिक आवण्टनको खेप ठूला र मध्यम आकारका ट्रकहरूमा लाचुङ-युमथाङ-जिरो प्वाइण्ट-डोङ्क्याला-गुरुदोङ्मार-थाङ्गु एक्सिस हुँदै जुम्साका पिपनको समन्वयमा ढुवानी गरिनेछ।

टिस्टा ताण्डवपछि यी क्षेत्रहरूमा मुख्य रूपले यातायात सम्पर्क जुन प्रकारले प्रभावित बनेको छ, त्यसलाई ध्यानमा राखेर विभागले जनवरी अनि फरवरी २०२४ महिलाको निम्ति आवण्टित पीडीएस राशनलाई लाचेन जुम्सामा अग्रिम रूपमा पठाउने अनि भण्डारण गर्ने योजना बनाएको छ। ४ अक्टोबर २०२३-को दिन टिस्टा नदीमा आएको विनाशकारी बाढ़ले प्रभावित सड़कसँगै हिमपातको कारण सड़क बन्द हुने आशंकालाई पनि विभागले ध्यानमा राखेको छ। दिसम्बर २०२३-सम्मको लाचेन जुम्साको मासिक आवण्टित राशन अक्टोबर २०२३ महिना अवधि लाचेन खाद्य गोदाममा संग्रहित थियो। तथापि, टिस्टा ताण्डवले प्रभावित बनेपछि उपलब्ध भण्डारबाट ती चामल अगावै वितरण गरिसकेको छ। विभाग अनि सरकारको निर्देशमा प्रभावित अनि लक्षित जनसंख्यालाई प्राथमिकताको आधारमा पीडीएस राशन सामग्री ढुवानीका लागि सबै स्रोत जुटाउँदै आएको जिल्ला जन वितरण प्रणाली अधिकारी पाल्देन एन. लाचुङपाले थप जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement