एसकेएम सरकार लिम्बू तामाङ सीट आरक्षणमा गम्भीर छः मुख्यमन्त्री तामाङ
मार्तम: गेज़िङ जिल्लाको मार्तममा त्योङसी सिरीजङ्गाको ३१९औं जन्म जयन्ती भव्यताको साथमा पालन गरियो। आजको कार्यक्रममा मुख्य अतिथिकोरूपमा मुख्यमन्त्री प्रेमसिंह तामाङ उपस्थित थिए। मुख्यमन्त्री प्रेमसिंह तामाङले १४ करोड १२ लाखको धनराशिमा निर्माण हुने मार्तम माङहिमको सुन्दरीकरण अनि गुफा निर्माणको निम्ति सिलान्यास पनि गरे।
आजको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार गठन भएपछि राज्यमा विभिन्न जात गोष्ठीले आफ्नो जातिय चाड पर्व मान्नको निम्ति स्वतन्त्रता पाएको बताए। पूर्व सरकारले लिम्बू जातिको धरोहरलाई समेत मास्न प्रयत्न गरेको बताए। लिम्बू जातिको कुनै पनि संघ संस्थालाई पत्तो नदी सिरीजंगा गुफा भएर सडक निर्माणको निम्ति सडक प्रस्तावित गरेको बताए। त्यो थाहा पाउन साथ वर्तमान सरकारले यसमा रोक लगाएर लिम्बू जातिको धरोहरलाई संरक्षण गर्ने काम गरेको किटान गरे। आफ्नो समयमा लिम्बू तामाङको सीट आरक्षण गर्ने मौका प्राप्त गर्दा पनि कुनै ठोस कार्य नगर्नेहरुले अहिले आएर वर्तमान सरकारले यसको निम्ति कुनै कार्य गरेन भन्नु हाँस्यस्पद रहेको उनले बताए। वर्तमान सरकार यो मुद्दामा गम्भीर रहेको अनि यसको निम्ति इमान्दार भएर कार्य गर्ने पनि मुख्यमन्त्रीले विश्वास दिलाए। राज्यका लिम्बू समुदायको संस्कार, संस्कृति, भाषा अनि सभ्यताको निम्ति वर्तमान सरकारले थुप्रै कार्य गरेको उनले अवगत गराए।
वर्तमान सरकारले आजसम्म केवल सिक्किम अनि सिक्किमे जनताको हितमा कार्य गरिरहेको जानकारी गराए। प्रत्येक जनताको एक भोटले अहिले राज्यमा धेरै काम भइरहेको उनले बताए। जनताको एक भोटले गरीब सिक्किमे आमाले आमा सशक्तिकरण योजना अन्तर्गत ४० हजार रुपियाँ प्राप्त गरिरहेको अवगत गराए। एक भोटले गरीब जनताको छोरा- छोरीले उच्च शिक्षा हासिल गर्ने आफ्नो सपना पूरा गरिरहेको अनि गरीब जनताले राम्रो उपचार पाइरहेको मुख्यमन्त्री तामाङले दावी गरे। सिक्किममा अहिले भइरहेको विभिन्न कार्यहरु अभूतपूर्व रहेको बताए।
आफूले परिवारवाददेखि माथि उठेर राजनीति गरीरहेको उनले ठोकुवा गरे। पूर्व मुख्यमन्त्रीले जस्तो आफ्नो छोराहरुलाई ठेकाको काम दिएको बताउँदै वर्तमान सरकारले ठेकाको कामदेखि अलग राखेर जन सेवामा समर्पित गरेको जानकारी गराए।

यसका साथै आज मुख्यमन्त्री तामाङले राज्यमा मत्स्यपालन विभागलाई स्वतन्त्र विभाग बनाइने पनि घोषणा गरे। यसका साथै सिक्किममा पालन गरिने ट्राउट माछाको प्रदर्शनी सिलगढीमा आयोजन गर्ने पनि मुख्यमन्त्री तामाङले विभागलाई आदेश दिए। कार्यक्रममा क्षेत्र विधायक एवं मन्त्री लोकनाथ नेपाल, मन्त्री भीमहाङ लिम्बू, मन्त्री एमएन शेर्पा, सांसद डा. इन्द्रहाङ सुब्बा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, विधायक आदित्य गोले, विधायक सुनिता गजमेर लगायत अन्यको पनि विशेष उपस्थिति रहेको थियो।










