दोहोरियो घटना, डुवर्सको रेलमार्गमा फेरि मारियो ३ वटा जंगली हात्ती

22fea9d2-222d-4893-bcf1-72696822028c-1-300x138-1

कालचिनीः रेल प्रशासनको आँकड़ा अनुसार केवल डुवर्सको रेलमार्गमा २०१४ देखि २०२३ सम्म प्रायः १३८ वटा जति जंगली हात्तीको ज्यान रेलको धक्काले गएको छ। डुवर्सको रेलमार्ग मूलतः अलिपुरद्वार जङ्क्सनदेखि सिलगढ़ी जङ्क्सनसम्म बक्सा ब्याघ्र प्रकल्पको जंगल हुँदै जल्दापाड़ा राष्ट्रिय अभराण्य, गोरुमारा लाटागढी, चप्रामारी र सेभोक र गुलमाको जंगल भएर गएका छन्। बर्षेनी डुवर्सको रेलमार्गमा हात्ती मात्र नभएर अन्य वन्यजीवको पनि रेलले कुल्चिएर मृत्यु भईरहेको बन विभागले जनाएका छन्। विशेषगरी जंगली हात्ती अधिक मात्रामा रेलको धक्काले घाईते वा मृत्यु हुने गरेको आँकड़ाले बताइरहेका छन्। यसबीच डुवर्सको अलिपुरद्वार जिल्ला अधीनस्थ बक्सा ब्याघ्र प्रकल्पको पश्चिम राजाभातखावा रेञ्ज अन्तर्गत पर्ने जंगलबीचको शिकारी गेट (लेभल क्रसिङ) बाट प्रायः ३०० मीटर पश्चिमको रेल खुट्टी नम्बर १५४/७ र १५४/८ बीचको रेलवे ट्र्याकमा सोमबार बिहान प्रायः ७.२५ बजी मालवाहक रेलको धक्काले तीनवटा हात्तीको मृत्यु घटनास्थलमा नै भएको थियो।

प्राप्त जानकारी अनुसार असमदेखि सिलगढ़ीगामी उक्त मालवाहक रेलको गतिवेग ३० किलोमीटर भन्दा अधिक रहेकोले रेलवे ट्र्याक पार गरिरहेको हात्तीको झुन्डलाई ठोक्कर दिन पुगेको थियो। बन विभागले जनाएअनुसार रेल पाइलट र लेभल क्रसिङमा कर्तव्यरत रेल कर्मचारीहरूको लापरवाहीले नै सोमबार राजाभातखावा रेलवे लाइनमा ३ वटा हात्तीको ज्यान गएको हो। यद्यपि रेलवे प्रशासनले रेलको जंगल क्षेत्रमा तय गरिएको गतिवेगमा नै रेल गुड़ने गरेको जनाएका छन्।

तथापि दुर्घटना पश्चात घटनास्थलमा पुगेका बक्सा ब्याघ्र प्रकल्पको अधिकारीहरूले उक्त मालवाहक रेलको इन्जिनलाई बन विभागले सीज गरेको र रेलको पाइलटलाई अभियुक्त घोषणा गरेको जनाएका छन्। सोमबार बिहानको उक्त घटनापछि रेल यातायातसितै कालचिनी, राजाभातखावा र अलिपुरद्वारबीचको सड़कमार्ग पनि प्रायः ३ घन्टाजति अवरुद्ध बनेको थियो। रेलले हात्तीको मृत्यु पश्चात उक्त घटनास्थलमा हात्तीको झुन्ड जमा भएको थियो भने धेरै बेरसम्म बनकर्मीहरू कोही पनि घटनास्थलमा पुग्न असमर्थ बनेको थियो। बन विभागीय सुत्रबाट थाह लागे अनुसार, रेलको धक्काले अझै दुईवटा भन्दा अधिक हात्ती घाइते बनेको र जंगलमा भौँतारिएको छ।
बिहान हात्तीको अत्तालिएको झुन्डले बाटामा भेटेका कसैलाई पनि आक्रमण गर्नसक्ने आशङ्काले बन विभागले डिमा सेतुदेखि जंगलको बाटो वाहन चलाचल गर्न बन्द गराएको थियो। यता जंगली हात्तीको यसरी रेलको धक्काले हुने मृत्युले हाम्रो इकोतन्त्र सर्वनाश हुने र यसले प्राकृतिक प्रकोप बढ़ने सम्भावना रहेको राजाभातखावाका समाजसेवी तथा उत्तरबंगाल बन जन श्रमजीवी मन्चका केन्द्रिय कन्भेनर लालसिंह भुजेलले आशङ्का व्यक्त गरेका छन्। यसरी जंगली हात्तीको रेलवे लाइनमा भएको मृत्युमा रेलवेको दोष वा बन विभागको भन्ने प्रसंगमा लालसिंह भुजेलले यो दुवै रेलवे र बन विभाग दोषी रहेको बताएका छन्। तिनले धेरै बर्षदेखि नै बन विभागलाई अलिपुरद्वार जङ्क्सनदेखि सिलगढ़ी जङ्क्सनसम्म नै जंगल संलग्न रहेकोले यो सबै हात्तीको करिडोर घोषणा गरिनु पर्ने दाबी गरेको तर बन विभागले स्थानीय बासिन्दाहरूको सल्लाह नलिई बेङ्गलुरुबाट कथित एक्सपर्टहरूलाई बोलाएर जंगलमा कता कता हात्तीको करिडोर हो चिन्हित गर्न लगाएको तर आजसम्म जति पनि हात्तीको मृत्यु रेलको धक्काले भएको छ त्यो करिडोर भन्दा टाढ़ाको स्थलमा भएको छ र यस्तो करिडोर चिन्हित गर्नेलाई पक्राउ गरिनु पर्ने बताएका छन्।
यता रेलको ठोक्करमा मारिएका तीनैवटा हात्तीको पोस्टमार्टम पश्चात जंगलमा नै मृत हात्तीको दाह संस्कार गरिने बन विभागले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement