उत्तरकाशी: उत्तरकाशीको सिलक्यारा निर्माणाधिन सुरूङ्गमा पछिल्लो १६ दिनदेखिकै ४१ जनाको जीवनलाई बचाउने जङ्ग जारी छ। सोमवार सेनाले मोर्चा सम्हालेको छ। सुरूङ्गभित्र भर्टिकल ड्रिलिङ्ग ३१ मीटर पूरा भइसकेको छ। सुरूङ्गमा म्यानुअल खनन शुरू गरिएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीका प्रधान सचिव डा. प्रमोद कुमार मिश्राले आज उत्तरकाशीको सिलक्यारा निर्माणाधिन सुरूङ्गभित्र फसेका श्रमिकहरूलाई बाहिर निकाल्नका लागि संचालित बचाउ अभियानको स्थलगत निरीक्षण गरे साथै सुरूङ्गभित्र श्रमिकहरूसित बातचित गरे। यस अवधि मिश्रासित उत्तराखण्डका मुख्य सचिव एसएस सन्धू पनि उपस्थित थिए।
प्रधानमन्त्रीका प्रधान सचिव पीके मिश्राले सुरूङ्भित्र फसेका श्रमिकहरूलाई पठाइरहेको भोजन सामग्रीहरूको बारेमा जानकारी लिए। साथै फसेका श्रमिकहरूका आफन्तहरूसित पनि उनले वार्ता गरी सान्तवना दिए। उनले एनएचडीसीएल एवं नोडल अधिकारी नीरज खैरवालबाट पनि बचाउ अभियानको जानकारी लिए।
आज बिहानदेखि सिलक्यारा निर्माणाधिन टनलको राहत औ बचाउ अभियानको जिम्मा सेनालाई सुम्पिइयो। सेनाको इन्जीनियरिङ्ग कोरको मद्रास स्यापर्सको टीमले अब राहत औ बचाउ कार्यको जिम्मेवारी निर्वाह गर्नेछ। लगातार आइरहेका बाधाहरूलाई चिर्दै अन्ततः ४१ जना श्रमिकहरूलाई सकुशल बाहिर निकाल्ने जिम्मेवारी अब सेनालाई दिइएकोछ। राहत अनि बचाउ कार्य ४१ घण्टासम्म अवरूद्ध भयो। अब फेरि बचाउ कार्यमा तीव्रता आएको छ।
अमेरिकी अगर ड्रिलिङ्ग मसिन खराब भएपछि यस अभियानको जिम्मा सेनालाई सुम्पिइएको छ। अब सुरूङ्गको माथिबाट भर्टिकल ड्रिल शुरू गरेर श्रमिकहरूसम्म पुग्ने प्रयास गरिँदैछ यसमा अझ तीन-चार दिन लाग्नसक्छ।
सबै ४१ मजदूर पूर्णरूपले सुरक्षित : जिल्ला आपदा परिचालन
जिल्ला आपदा परिचालन अनुसार सुरूङ्गभित्र सबै ४१ जना मजदूरहरू पूर्ण रूपले सुरक्षित छन् र उनीहरूलाई निकाल्नका लागि अहिलेसम्ममा ३१ मीटरसम्म ड्रिलिङ्ग गरिसकिएको छ। मजदूरहरूसम्म पुग्नकालागि ८६ मीटर ड्रिलिङ्ग गर्न आवश्यक छ। यस अतिरिक्त अन्य चारवटा योजनाहरूमाथि पनि काम गरिँदैछ। सुरूङ्गभित्र मजदूरहरूलाई भोजन, औषधि पुऱ्याइँदैछ साथै फोन लाइन पनि जड़ान गरिएको छ ताकि उनीहरूले आफ्ना परिवारसित कुराकानी गर्न सकुन्। मजदूरहरूलाई बाहिर निकाल्नका लागि सबै एजेन्सीहरूले हरसम्भव प्रयास गरिरहेका छन्।
भगवान र विज्ञानको सङ्गमबाट बचाउ अभियान हुनेछ सफल
बाबा बौखनागको भूमिमा निर्माणाधिन सिलक्यारा टनलमा पूजा पाठ गर्ने क्रम जारी छ। सोमवार सुरूङ्गको माथिल्लो भागमा पण्डितहरूले हवन गरी पूजा-अर्चना गरे। अर्थात भगवान र विज्ञानको सङ्गमबाट बचाउ अभियानलाई सफल बनाउने प्रयास गरिँदैछ।









