सिलगढी: सिलगढीको एउटा नामी नर्सिङ होममा लाखौँ रुपियाँको धोखाधडी गर्ने म्यानेजरलाई पक्राउ गरेको छ।पुलिसले पक्राउ गरेपछि सो म्यानेजरलाई आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका म्यानेजरको नाम सञ्जीव दे बताइएको छ। तिनी मुख्य रूपमा मैनागढी निवासी हुन् भने हाल सिलगढी नगरनिगमको ४३ नम्बर वार्डमा भाडाको घरमा बस्दै आइरहेका थिए। प्राप्त जानकारी अनुसार भक्ति नगर थाना अन्तर्गत एउटा नर्सिङ होममा सञ्जीव दे गत ५ वर्षदेखि म्यानेजरको रूपमा कार्यरत थिए। सञ्जीवले नर्सिङ होममा ५० लाख रुपियाँको हेराफेरी गरेको आरोप रहेको छ। अस्पताल प्रबन्धनद्वारा गरिएको अडिटमा तिनले ५० लाख रुपियाँको धोखाधडी गरेको खुलासा भएपछि तिनलाई कामबाट निकालिदिएको बताइएको छ। यसपछि अस्पताल प्रबन्धनले गत २३ अक्टोबरमा म्यानेजरविरुद्ध भक्ति नगर थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले लाखौँ रुपियाँ धोखाधडी गरेको आरोपमा म्यानेजरलाई पक्राउ गरेको छ।










