सिक्किम राज्य केन्द्र सरकारको भरमा चल्दैछः विधायक थापा
गान्तोक: भारतीय जनता पार्टी, सिक्किमको एउटा शीर्ष प्रतिनिधि टोलीले प्रदेश अध्यक्ष तथा विधायक डीआर थापाको अगुवाईमा आज दक्षिण सिक्किमको तिमी नाम्फिङ निर्वाचन क्षेत्रका विभिन्न स्थानहरूको भ्रमण गऱ्यो। भ्रमण क्रममा भाजपा टोलीले पार्टीको साङ्गठनिक गतिविधिलाई बढ़ाउनको साथै स्थानीयहरूका जनगुनासोलाई संज्ञानमा लिएको छ। भ्रमण टोलीमा प्रदेश उपाध्यक्ष डीसी नेपाल, महामन्त्री अर्जुन राई, पाकिम जिल्ला अध्यक्ष प्रेम छेत्री साथै अन्य सामेल थिए।
भ्रमणको क्रममा बिहान डीआर अध्यक्ष थापाले बर्मेक फाटकमा पार्टीको नयाँ क्षेत्रस्तरीय कार्यालयको उद्घाटन पनि गरे। आगामी विधानसभा चुनाउलाई केन्द्र गरेर स्थापित यस कार्यालयमार्फत तिमी नाम्फिङ समष्टिमा पार्टीको गतिविधिलाई अझ बल पुग्ने आशा व्यक्त गर्दै अध्यक्ष थापाले सबै कार्यकर्ताहरूलाई सफलताको शुभकामना दिए। त्यसपछि यसै क्षेत्र अन्तर्गत पाबोङमा एउटा साङ्गठनिक सभाको आयोजन गरिएको थियो। सभामा स्थानीय गाउँलेहरूको बाक्लो उपस्थिति रहेको थियो। यस अवसरमा सेवानिवृत्त शिक्षक साथै स्थानीय लगभग २० परिवार भारतीय जनता पार्टीमा सामेल भएका छन्। पार्टी पदाधिकारीहरूले सबैलाई खदा लगाएर पार्टीमा स्वागत जनाए।
आफ्नो छोटो सम्बोधनमा अध्यक्ष थापाले सबैलाई पार्टीमा स्वागत जनाउँदै यस क्षेत्रमा पार्टीलाई माथि उठाउन सबै मिलेर काम गर्नुपर्ने बताए। आज सिक्किम राज्य प्रायजसो केन्द्रको भाजपा सरकारको भरमा चलिरहेको बताउँदै निःशुल्क रासनदेखि लिएर स्वास्थ्य बीमा, प्रधानमन्त्री आवास योजना, जल जीवन मिशन, किसान सम्मान निधि, पीएमजीएसवाई, प्रधानमन्त्री जन विकास कार्यक्रम जस्ता विविध जनकल्याणकारी योजनाहरूबाट सिक्किमे जनता लाभान्वित भइरहेको उनले बताए। यसको साथै अब सिक्किममा पनि भाजपाको सरकार ल्याएर यसलाई अझ सशक्त बनाउनुपर्ने कुरामा विधायक थापाले जोर दिए। यसै गरी सिक्किमका थाँतीमा रहेका विभिन्न राजनीतिक मागहरू पूरा गर्ने क्षमता पनि केवल भाजपासित रहेको पनि उनले दावी गरे। क्षेत्रीय दलहरूलाई ५० वर्ष दिएको र अब एकपल्ट भाजपालाई अवसर दिने उनले राज्यवासीलाई आह्वान गरेका छन्। सभालाई पार्टी महामन्त्री अर्जुन राईले पनि सम्बोधन गरेका थिए।
बैठकपछि भाजपा टोलीले तिमी नाम्फिङ भएर निर्माण गरिएको राष्ट्रिय राजमार्गको निर्माण क्रममा कतिपय परिवारहरू अन्यायमा परेको विषयलाई लिएर स्थलगत भ्रमण गऱ्यो। भाजपा टोलीले स्थानीयवासीको गुनासोलाई संज्ञानमा लिएर उचित क्षतिपूर्तिको व्यवस्था गर्न राज्य तथा केन्द्र सरकारसम्म उनीहरूको गुनासोलाई पुऱ्याउने अनि न्याय दिलाउने उनले वचन दिएको छन्।








