गान्तोक: आगामी ३१ दिसम्बर, २०२३ अनि ०१ जनवरी २०२४ मा सिलगढीको सालुगढामा आयोजना गरिने दुई दिवसीय विराट सद्भावना सम्मेलनलाई लिएर शुक्रवार मानव उत्थान सेवा समिति, सिक्किम राज्यको एउटा जरुरी सभा रम्फूको सुयश सत्सङ्ग धाममा सम्पन्न भयो।
मानव उत्थान सेवा समिति, उत्तरपूर्वाञ्चल क्षेत्र सिलगढीकी प्रभारी साध्वी महात्मा अदिना बाईजीको अध्यक्षतामा सम्पन्न यो सभामा मूलसचिव प्रकाश हाङखिम, सिक्किम राज्यका अध्यक्ष पूर्ण योञ्जन, मानव सेवा दल प्रभारी भीमप्रकाश राई, विभिन्न तहसिलका प्रभारी महात्मागण, सदस्यहरुको उपस्थिति थियो।
सभामा वक्ताहरूले आ आफ्ना विचार व्यक्त गर्दै दुई दिवसीय विराट सद्भावना सम्मेलनलाई सफल बनाउन प्रत्येक सदस्यहरुको परम कर्तव्य र जिम्मेवारी रहेको बताए। उक्त सम्मेलनमा मानव उत्थान सेवा समितिका संस्थापक एवं मानव धर्मका प्रणेता सतपाल महाराज सपरिवार उपस्थित रहने वक्ताहरूले सभामा जानकारी गराए।
सिलगढीमा बितेको लगभग पचास वर्षदेखि वर्षेनी आयोजना हुँदै आएको सद्भावना सम्मेलनमा सिक्किम राज्य, छिमेकी पहाड दार्जीलिङ, भारत देशका अन्य राज्यहरु, छिमेकी राष्ट्र नेपाल अनि भोटाङ लगायत विश्वका अन्य देशहरुबाट हजारौंको सङ्ख्यामा मानिसहरु आउने गरेको बताउँदै उनीहरुको खाने अनि बस्ने उचित व्यवस्था सम्बन्धि विषयलाई लिएर सभामा चर्चा गरियो।सिक्किम राज्यका सदस्यहरुबाट सम्मेलनलाई सफल बनाउन के कस्ता सहयोग अनि सेवा पुर्याउन सकिन्छ विषयमा पनि सभाले चर्चा गर्यो।
सभालाई मानव उत्थान सेवा समिति, उत्तरपूर्वाञ्चल क्षेत्र सिलगढीकी प्रभारी साध्वी महात्मा अदिना बाईजी, गान्तोक प्रभारी साध्वी महात्मा ज्ञान बाईजी, मूलसचिव प्रकाश हाङखिम, मानव सेवा दल प्रभारी भीमप्रकाश राई आदिले सम्बोधन गरेका थिए।









