गान्तोक: कुनै पनि पाठशालाको भवन, परिसर, पूर्व शिक्षकगण अनि पूर्व मित्रहरुसँग त्यस स्कूलमा अध्ययन गरेका विद्यार्थीहरुको गहिरो सम्बन्ध र सम्झना रहेको हुन्छ। ती सम्झनाहरुलाई आलो गराउन कतिपय पाठशालाहरुले पूर्व विद्यार्थी संगठन स्थापना गरेर बेला-बेलामा पूर्व विद्यालयहरुको पुनर्मिलन कार्यक्रम आयोजना गर्ने गर्दछ।
यसरी नै आज सर टासी नामग्याल वरिष्ठ माध्यमिक विद्यालयका पूर्व विधार्थी संघको भेटघाट कार्यक्रम अथवा टी-नाइट एल्युमनी मिट २०२३ आज चिन्तन भवनमा सम्पन्न भयो। यस भेटघाट कार्यक्रममा गत १९६८ सालदेखि लिएर २००० सालसम्म यस पाठशालामा अध्ययन गर्ने पूर्व विद्यार्थीहरु जमघट भएका थिए।
कार्यक्रममा यस विद्यालयबाट अध्ययन गरेर हालमा आईएएस अफिसर बनेका साथै उच्च अहोदामा पुग्न सक्षम बनेका चारजना पूर्व विद्यार्थीहरुलाई सम्मान जनाउने कार्य गरियो। कार्यक्रममा स्कूलको स्थापना कालदेखि हालसम्मका घटनाहरुलाई समेटेर निर्माण गरिएको डकुमेन्ट्री फिल्म पनि प्रदर्शन गरिएको थियो।
कार्यक्रममा यस संगठनका २००१ देखि लिएर २०२३ सम्मका पूर्व-अध्यक्षहरु साथै कार्यकारी सदस्यहरूलाई सम्मान जनाउने कार्यक्रम गरियो। कार्यक्रममा अध्यक्ष कुंजाङ ग्यात्सो भोटियाले सम्भाषण राख्ने क्रममा कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै आफू पढेको पाठशालाको लागि केही गर्नपर्छ भन्ने उद्देश्यले यो पूर्व विद्यार्थी संगठन शुरु गरिएको र यस संगठनले आज पर्यन्त पाठशालाको हितमा कार्य गरिरहेको कुरा बताए।









