एनईपी २०२० को माध्यमद्वारा भारत पुनः विश्व गुरु बन्ने दिशामा अग्रसरः राज्यपाल

n5597175881700928356484d73aedc523dba2e54fef673e269faf941339a32a7a474de40b64c5e7f6d8f7ef.jpg

गान्तोक: दक्षिण सिक्किमको राभाङलास्थित बुद्ध पार्कमा आज राष्ट्रिय प्रौद्योगिकी संस्थान (एनआईटी) सिक्किमको छैटौं दीक्षान्त समारोह आयोजना गरियो। कार्यक्रममा सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथि थिए।

कार्यक्रमको अध्यक्षता एनआईटी, सिक्किमको बोर्ड अफ् गवर्नर्सका अध्यक्ष रमेश कुमार सरावगीले गरेको थियो।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै राज्यपाल आचार्यले डिग्री प्राप्तकर्ताहरूलाई बधाई दिॅंदै भने, समाजलाई अगाडि बढाउन तथा राज्य र राष्ट्रको विकासमा सबैको भागीदारी महत्वपूर्ण छ। उनले २१औं सदी भारतको सदी रहेको बताउॅंदै विद्यार्थीहरूलाई तकनीकीको क्षेत्रमा नयॉं सीमाहरूलाई छुने लक्ष्य बनाउन आह्वान गरे।

राज्यपालले म्याटेरियल साइन्स, नेनो टेक्नोलोजी, डाटा साइन्स, रोबोटिक र आर्टिफिशियल इन्टेलिजेन्स आदि क्षेत्रमा अहिले निकै प्रगति भएको बताए। उनले विद्यार्थीहरूलाई यी क्षेत्रहरूको सदुपयोग गर्नुपर्ने बताए भने यसले विश्वका धेरै समस्याहरूको समाधान गर्न मद्दत पुग्ने बताए।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा स्टार्ट अप इण्डिया, स्ट्यान्ड अप अण्डिया, मेक इन इण्डिया र डिजिटल इण्डिया जस्ता धेरै कल्याणकारी सरकारी योजनाहरूको लाभ उठाएर भारतलाई आत्मनिर्भर बनाउने दिशामा काम गर्न बल दिए। उनले राष्ट्रिय शिक्षा नीति (एनईपी) २०२० को उल्लेख गर्दै उक्त नीतिलाई युगान्तकारी नीति बताए। उनले यो नीतिको माध्यमद्वारा भारत पुनः विश्व गुरु बन्ने दिशामा अग्रसर रहेको बताए।

दीक्षान्त समारोहमा कूल १९८ स्नातक विद्यार्थीहरूलाई डिग्री प्रदान गरियो। यसमा डक्टर अफ् फिलोसफीका ७, मास्टर अफ् टेक्नोलोजीका ३१, मास्टर अफ् साइन्सका १६ र ब्याचलर अफ् टेक्नोलोजीका १४४ विद्यार्थी सामेल छन्। कार्यक्रममा क्षेत्र विधायक, गवर्नर बोर्डका सदस्य, संस्थानका सीनेट सदस्य, शिक्षाविद आदि उपस्थित रहेको जानकारी राजभवनले प्रेस विज्ञप्तिमा दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement