सुपरिचित साहित्यकार असीत राईको ८३औं जन्म जयन्ती पालन

IMG-20231125-WA0182.jpg

खरसाङ: असीत राई साहित्य मञ्च, खरसाङको तत्वावधानमा २४ नोभेम्बरमा नेपाली साहित्यका मूर्धन्य साहित्यकार अकादमी पुरस्कारद्वारा सम्मानित एवं महत सदस्य (फेलो) असीत राईको ८३औं जन्म जयन्ती पालन गरियो। ब्लूमफिल्ड महकुमा पुस्तकालय खरसाङमा आयोजित यस कार्यक्रमको अध्यक्षता साहित्यकार ऋषि राईले गरेका थिएl मुख्य अतिथिको रूपमा समाजसेवी पण्डित तुलसीप्रसाद अधिकारी अनि विशिष्ट अतिथिको रुपमा साहित्यकार असीत राईकी धर्मपत्नी शान्ति राई अनि सूरज राई उपस्थित थिए। अध्यक्ष, अतिथिगणको बाहुलीबाट दिवंगत साहित्यकार असीत राईको प्रतिकृतिमा धूपदीप प्रज्ज्वलन गरी आरम्भ गरिएको कार्यक्रममा मञ्चका संयोजक तथा कवि दीपक ठटाल ‘जलन’ले स्वागत सम्भाषणसहित कार्यक्रम आयोजनको औचित्य अनि उद्देश्य बारे प्रकाश पारेl उनले असीत राईको साहित्यिक योगदानको कदर गर्न उनको सम्मानमा स्मृति ग्रन्थ प्रकाशित गर्ने पहल भइरहेको जानकारी दिएl कवि दिल थापाले असीत राईद्वारा रचित कविता वाचन गरे। साहित्यकार देवराज मुखियाले असीत राईको संक्षिप्त जीवनी पठन गरे। मुख्य अतिथि प० तुलसी अधिकारीले आफू असीत राईको सहपाठी रहेको उल्लेख गर्दै मञ्चको पहलको स्वागत गर्दै कतिपय संस्मरणहरु सुनाए। आफ्नो अध्यक्षीय सम्भाषण राख्दै साहित्यकार ऋषि राईले असीत राईका कृति अनि योगदान बारे प्रकाश पारे अनि हाम्रो जातिले उनको यथोचित कदर गर्न नसकेकोमा दुखेसो प्रकट गरे। कार्यक्रममा मञ्चका सदस्यगण, असीत राईका पारिवारिक सदस्यगण, ग्राम सुधार समिति, महानदीका पदाधिकारीगण, अन्य साहित्यप्रेमी अनि विद्यार्थीगणको उपस्थिति रहेको दीपक ठटालले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement