आशा मुखिया लामाकृति यात्रा संस्मरण ‘चिसो मरूभूमितिर’ लोकार्पित

IMG-20231125-WA0162.jpg

यो पुस्तक उत्कृष्ट, पठनीय र ज्ञानवर्ध्दक भएको छ: एम पथिक

खरसाङ: खरसाङकी नारी स्रष्टा एंव नेपाली संस्कृतिको अभियन्ता साथै साहित्य अकादमी नेपाली भाषा परामर्श समिति सदस्या आशा मुखिया लामाको यात्रा संस्मरण ‘चिसो मरूभूमितिर’ को लोकार्पण सम्पन्न भएको छ। उक्त यात्रा संस्मरण कृति लोकार्पण कार्यक्रमको अध्यक्षता गोर्खा जनपुस्तकालयको अध्यक्ष एंव वरिष्ठ साहित्यकार पूर्ण गुरुङ ‘निरुपम’ ले गरेका थिए भने मुख्य अतिथिको रूपमा वरिष्ठ साहित्यकार एम ‘पथिक’ उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा खरसाङ कलेजका प्राध्यापक डा योगेस खाती, बाल साहित्य अकादमी पुरस्कार प्रापक साहित्यकार सुदर्शन प्रधान ‘अम्बटे’, विष्णु ठकुरी राई आदि उपस्थित थिए। शिक्षिका गोमा सुब्बाद्वारा सञ्चालित उक्त कार्यक्रममा स्वागत सम्भाषणा डा अम्बिका लामाले राखेकी थिइन्। कार्यक्रमको शुरुमा पण्डित तुलसी अधिकारीद्वारा मन्त्रोच्चारण साथै अतिथिहरूको बाहुलीबाट माता सरस्वतीको तस्वीरमा धुप द्वीप प्रज्वलन साथै साहित्यकार अर्जुन प्रधान र लेप्चा विकास बोर्डको चेयरम्यान तामसाङको निधनमा श्रध्दाञ्जली अर्पण गर्दै मौन प्रार्थना गरी थालिएको कार्यक्रममा स्रष्टा आशा मुखिया लामाको परिचय कवि विनोद रसाइलीले राखेका थिए। स्रष्टा आशा मुखिया लामा पश्चिम बंगाल सरकारको अवकाशप्राप्त आपदा प्रबन्धन अधिकारी हुन् भने उनी विभिन्न संघ संस्थाहरूसित आवध्द रहेर सामाजिक, सांस्कृतिक अभियन्ताको रूपमा कार्यरत् साथै नाट्यकर्मी पनि हुन्। उनको ‘रहर अक्षर’ (लेख संकलन) र सांस्कृतिक चिन्तनको पुस्तक ‘गाढ़धन’ पहिलेबाटै प्रकाशित छन्। यसै अवसरमा नारी स्रष्टा आशा मुखिया लामाकृत यात्रा संस्मरणको पुस्तक ‘चिसो मरूभूमितिर’ सभाध्यक्ष पूर्ण गुरुङ ‘निरुपम’, मुख्य अतिथि एम ‘पथिक’, विशिष्ट अतिथिहरू विष्णु ठकुरी, सुदर्शन प्रधान ‘अम्बटे’, प्राध्यापक योगेस खाती, लेखिका आशा मुखिया लामा, उनका पति पारस लामा, कवि विनोद रसाईली, प्रकाश प्रधान, सञ्जीव छेत्री लगायत देवकिरण मोक्तान, मिना मोक्तान, बिजया ब्लोन, उषाकिरण लामा, प्रमिला प्रधान आदिको बाहुलीबाट लोकार्पण गरिएको छ। उक्त पुस्तक लोकार्पणको घोषणा मुख्य अतिथि वरिष्ठ साहित्यकार एम पथिकले गरेका थिए। कार्यक्रममा लोकार्पित पुस्तकमाथि प्राध्यापक डा योगेस खातीले समीक्षात्मक टिप्पणी राखेका थिए। उनले यो पुस्तकले भाषाको मिठास र शब्द चयनले पाठकहरूलाई आकर्षित बनाउने बताउँदै यात्रा संस्मरणमा अन्य स्रष्टाहरूको नाम र कृतिहरूको उल्लेख गरेका थिए। प्राध्यापक योगेस खातीले यो पुस्तक यात्रा संस्मरणसितै अध्ययनको लागि राम्रो पुस्तक छ भनी वर्णन गर्दै यो यात्राको विवरण मात्रै नभएर स्थानको ऐतिहासिक पृष्ठभूमि र जानकारीहरू रहेको बताए। उनले यो पुस्तक खरसाङ क्षेत्रको लागि साथै भारतीय नेपाली साहित्यमा नै यात्रा संस्मरणमा थप कृति थपिएको बताए। कार्यक्रममा उक्त पुस्तककी लेखिका आशा मुखिया लामाले यात्रा गरेको कुराहरू र रोचक जानकारीहरू आफुमा मात्र सिमित नराखेर पाठकहरू समक्ष पनि जानकारीहरू साझा गर्नलाई पुस्तक प्रकाशन गरिएको बताइन्। उनले उपस्थित सबैप्रति आभार प्रकट गर्दै यात्रा संस्मरणमा सहयोगीहरू सबैप्रति आभार प्रकट गरिन्। कार्यक्रमको प्रमुख अतिथि साहित्यकार एम पथिकले आफ्नो सम्बोधनमा आशा मुखिया लामाद्वारा लिखित संस्मरणको पुस्तक उत्कृष्ट, पठनीय र ज्ञानबर्ध्दक छ भनी बताए। उनले यस पुस्तकमा यात्राको विवरण जीवान्त बनाएर रोचकतासहित पठनीय बनाएको बताउँदै यात्रा साहित्य विषयमा जानकारीहरू साझा गरेका छन्। एम पथिकले भने, साहित्य अकादमीमा यो पुस्तक पुगेर भारतको अन्य भाषाहरूमा यो पुस्तक प्रकाशित भएको खण्डमा भारतीय अन्य भाषीहरूले पनि गोर्खाहरूको योगदान विषयमा जानकारी पाउनेछन्। मुखियाद्वारा लिखित पुस्तकमा यात्रा मात्रै होइन तर भूगोल छ, इतिहास छ, रमाईलो र रोचक बनेर पुस्तक मूल्यवान् बनेको छ। नेपाली साहित्यमा नारीहरूले यात्रा संस्मरण कम लेख्छन् र यस हिसाबले पनि यो कृति महत्वपूर्ण बनेको छ। अहिलेसम्म नारी स्रष्टाहरू 6-7 जनाले मात्र यात्रा संस्मरण लेखेका छन् र यसमा आशा मुखियाको नाम पनि जोड़िएको छ। तर पुरूषहरूमा पनि भारतमा केवल 50 जना जतिले यात्रा संस्मरण लेखेका छन् भने नेपालमा 200 जना जतिले लेखेका छन्।’
मुख्य अतिथि एम पथिकले अघि भने, यात्रा साहित्यको आफ्नै महत्व छ कारणले यसले पर्यटनलाई पनि बढ़ाउँछ तर पर्यटनलाई यात्रा साहित्य मानिन्दैन। यस क्रममा आशा मुखिया लामाले पर्यटकको रूपमा यात्रा गर्नु भयो अनि यसमा नै साहित्य पनि लेख्नु भयो। भारतमा यात्रा साहित्यको 100 वर्ष पुगेको छ।’ उनले अझ भने, यात्रा साहित्य जति बढ्छ तेति हाम्रो संस्कृति पनि लेखिन्छ। भारतमा सबैभन्दा बेसी यात्रा साहित्य लेख्ने राज्य तामिलनाडु हो अनि दोस्रोमा केरला आउँछ। यात्रा साहित्य लेख्दा साहित्यकारको रूपमा मात्र लेख्नु हुँदैन तर अरू विषय र अन्य क्षेत्रलाई पनि समेट्नुपर्छ। अरू भाषाको लागि पनि सोचेर लेख्नुपर्छ। किनभने यात्रा साहित्य महाकाव्य हो। यात्रा साहित्य कल्पना गरेर मात्रै लेखिन्दैन तर विचार पुराएर तथ्यसहित लेखिनुपर्छ।’ कार्यक्रममा सभाध्यक्ष पूर्ण गुरुङ निरूपमले पनि सम्बोधन राख्दै आशा मुखिया लामा संस्कृतिविद् हुन् भनी बताउँदै उनको यात्रा संस्मरणको कृति लोकार्पणको शुभकामना दिएका छन्। उनले यात्रा संस्मरण ठूलो विधा हो भनी बताए। कार्यक्रममा विभिन्न स्थनाहरूबाट साहित्यकारहरू एंव पाठकहरू उपस्थित रहेका थिए। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै नारी स्रष्टा आशा मुखिया लामाले पुस्तक प्रकाशन र यात्रामा सहयोगी साथै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका छन्। उनले आफ्नो यात्रा संस्मरण चिसो मरूभूमि विषयमा पनि जानकारी गराएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement