गान्तोक: ६ माइल, तादोङस्थित इन्द्र-कृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान, देन्ताम, पश्चिम सिक्किमको आयोजनमा सिक्किमको भौगोलिक परिवेश, स्थिति र सम्भाव्य चुनौतिलाई केन्द्रमा राख्दै सिक्किमेली समाजलाई यससम्बन्धी जागरूक गराउने अभियान लिएका पूर्व मुख्य अभियन्ता, नेपाली साहित्य परिषद्का अध्यक्ष एवं साहित्य अकादमी, दिल्लीका परामर्श समितिका पूर्व सदस्य तथा वर्तमानमा प्रतिष्ठानका अध्यक्ष प्रद्युम्न श्रेष्ठले आज नरबहादुर भण्डारी सरकारी महाविद्यालय, तादोङमा एउटा विशेष वार्ता प्रस्तुत गरे।
सिक्किमले विगत केही वर्षयता धेरैचोटि प्राकृतिक प्रकोपको मार झेलेको पृष्ठभूमिलाई अघि सार्दै भविष्यमा यस्ता चुनौतीहरूसँग कसरी सामना गर्ने भन्नेबारे विस्तृत जानकारी दिए।
सरकारी केही भवन निर्माणबाहेक निजी घरहरू निर्माण गर्दा आभियान्त्रिकी व्यवस्थाबाट थोरैमात्र बन्ने गरेको बताउँदै भुइँचालोजस्ता प्राकृतिक प्रकोपबाट बनिएका घरहरूले बढी क्षति बेहोर्नु परेको तथ्य प्रस्तुत गरे।
अभियान्त्रिकीका जानकारसँगको परामर्शबाट भवन तथा अन्य पूर्वाधार निर्माण गर्ने व्यवस्थापनको नीति निर्धारण गरी कार्यान्वयन गर्नसके भविष्यमा हुनसक्ने खतरालाई आङ्शिक रूपमा न्यून गराउन सकिने विचार उपस्थितहरूमाझ साझा गरे।
यस सचेतनता कार्यक्रममा सिक्किम सरकारका पूर्व मुख्य अभियन्ता एवं नेपाली साहित्य परिषद्का पूर्व अध्यक्ष चूडामणि खतिवडा, साहित्यकार तथा समाजसेवी पुण्यप्रसाद कोइराला, साहित्यकार तथा पत्रकार एवं अटल भण्डारी ग्रन्थका सम्पादक अर्जुन पीयूष, नेपाली विभाग प्रमुख डा. उदय छेत्री, डा. शारदा छेत्री, डा. टेकबहादुर छेत्रीलगायत विभिन्न विभागका विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।










