गान्तोक: अल इण्डिया बुद्धिष्ट फोरमको आयोजनमा आगामी २६ नोभेम्बरको दिन बिहारको बोधगयामा हुने शान्ति जुलुस र बैठकमा सहभागी बन्न फोरमका सिक्किम प्रतिनिधिहरू गया प्रस्थान गरेका छन्।
बोधगयामा रहेको बौद्ध गया टेम्पल म्यानेजमेन्ट कमिटी (बीटीएमसी) मा गैर बौद्धहरूको धलीमली रहेको भन्दै त्यसको विरोधमा आगामी २६ नोभेम्बर संविधान दिवसको दिन शान्ति जुलुसको निम्ति भारत भरिका बौद्धमार्गीहरूले गयामा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। जसमा सहभागी बन्न सिक्किमका 38 जना बौद्ध धर्मावलम्बी आज सिलगढीबाट गयातर्फ प्रस्थान गरेका छन्।
लामा ओङ्दी पिन्छो भोटियाको अगुवाईमा सिक्किमबाट ३८ जना प्रतिनिधि गया प्रस्थान गरेका छन्। १९४९ मा स्थापित बौद्ध गया म्यानेजमेन्ट कमिटीमा ९ जना सदस्य रहने गर्दछन्। जसमा अध्यक्ष गयाका जिल्ला प्रशासक हुने गर्दछ भने चार जना हिन्दू ब्राह्मण प्रतिनिधि हुने भएको कारण बौद्ध धर्मका चारजना प्रतिनिध कुनै पनि महत्वपूर्ण निर्णयमा सधैँ अल्पमतमा पर्ने गरेको कारण बौद्ध धर्मसित सम्बन्धित संस्था भएर पनि बौद्ध धर्मको हितमा कुनै योजना गर्न नसकेको फोरमको गुनासो छ।
यसलाई लिएर कमिटीमा केवल बौद्ध प्रतिनिधिहरूको मात्र सदस्यता हुनुपर्ने माग उठाइन्दै आएको छ। यसलाई जोरदार रूपमा उठान गरेर बौद्ध धर्मको कमिटीमा हिन्दू ब्राह्मणहरूको दबदबा हटाउने माग लिएर अल इण्डिया बुद्धिष्ट फोरमले शान्ति जुलुस आयोजन गरेर भारत सरकारको ध्यान आकर्षण गर्ने निर्णय गरेको फोरमले बताएको छ। यसमा भारतभरिका विभिन्न प्रान्तबाट बौद्धमार्गीहरूले शान्ति जुलुसमा भाग लिनेछन्।










