मसाला उत्पादनलाई लिएर एक दिवसीय क्षेत्रीय गोष्ठी सम्पन्न

IMG-20231124-WA0242.jpg

गान्तोक: भारत सरकारको मसला बोर्ड क्षेत्रीय कार्यालय मङ्गनको आयोजनामा “सुरक्षित हिमालयन परियोजना” माथि मसालालाई लिएर सचेतना कार्यक्रम साथै एक दिवसीय क्षेत्रीय गोष्ठी आज मंगन जिल्लाको पेन्टोकमा सम्पन्न भयो।

यस अवसरमा वीर आदिवासी स्वतन्त्रता सेनानीहरूको सम्झनामा समर्पित तेस्रो जनजातिय गौरव दिवस पनि मनाइयो।

उक्त अवसरमा जङ्गु निर्वाचन क्षेत्रका विधायक पिन्छो नामग्याल लेप्चा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने जिल्ला अध्यक्ष कादो छिरिङ लेप्चा विशिष्ट अतिथिकोरूपमा रहेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि विधायक लेप्चाले सर्वप्रथम जिल्लाका कृषक तथा स्वयं सहायता समूहको सफलताको लागि बधाई दिँदै मार्गदर्शनका लागि मसला बोर्डलाई धन्यवाद दिए।

उनले कृषकले गुणस्तरीय र परिमाणमा उत्पादन गर्न सक्ने मसला काट्ने नयाँ प्रविधि र प्रक्रियाको महत्वबारे जानकारी दिए। विधायक लेप्चाले राज्य सरकारले किसानलाई कसरी प्रोत्साहन गर्ने र त्यसबाट कसरी फाइदा लिन सकिन्छ भन्नेबारेमा काम गरिरहेको अवगत गराए।

उनले पञ्चायतहरुलाई सम्वन्धित विभागका अधिकारीहरुसँग समन्वय गरी नयाँ कृषकहरुलाई जानकारी गराउन ग्रामीण क्षेत्रमा यस प्रकारको कार्यक्रम आयोजना गर्ने सुझाव दिए। यसै क्रममा जिल्ला अध्यक्ष कादो छिरिङ लेप्चाले अधिकारीले विभिन्न पहलबाट जिल्लामा गुणस्तरीय अलैंची उत्पादन बढाउन मसला बोर्ड मङ्गनले गरेको कामको प्रशंसा गरे।

उनले प्रगतिशील कृषकहरूलाई राज्य सरकारले प्रदान गरेको प्रोत्साहनको निम्ति प्रदान गर्दै आएको विभिन्न प्रकारको सहयोग र सुविधाबारे पनि जानकारी गराए। राज्य सरकारको यस प्रकारको पहलले किसानहरूलाई आर्थिक रूपमा मद्दत पुग्नको साथै उनीहरूलाई थप उत्पादन गर्न उत्प्रेरित गर्ने बताए। उनले मसला बोर्डलाई जिल्लाका कृषकहरूलाई आफ्नो खेतीयोग्य जमिनमा आधारित बाली उत्पादन गर्न सक्ने किसिमको मार्गदर्शन उपलब्ध गराउन पनि आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement