गान्तोक: सिक्किम क्रिकेट एसोसिएशनको पहलमा आज रम्फूस्थित क्रिकेट खेल मैदानमा अन्डर १९-कुचबिहार ट्रफी प्रतियोगिता शुरू भयो। आजको पहिलो खेल सिक्किम बनाम अरूणाचल प्रदेशमाझ भएको थियो। उल्लेखनीय छ, यस प्रकारको प्रतियोगिता प्रत्येक वर्ष देशको विभिन्न राज्यले क्रमैले आयोजना गर्ने गर्दछ। आजदेखि शुरू भएको सिक्किम र अरूणाचल प्रदेशको खेल निरन्तर चारदिनसम्म चल्ने सिक्किम क्रिकेट एसोसिएशनका अध्यक्ष टिका सुब्बाले जानकारी गराएका छन्। यसरी नै १ दिसम्बरदेखि ४ दिसम्बरसम्म सिक्किम बनाम मेघालयबीच खेल खेलाइने भएको छ।सोही प्रकारले १५-१८ दिसम्बरसम्म सिक्किम बनाम मिजोरमबीच प्रतिष्पर्धा हुने उनले थप बताएका छन्। यसरी नै आगामी वर्षको जनवरी महिलानमा कर्णल सिके नायडु ट्रफी पनि रम्फूको क्रिकेट खेल मैदानमा हुनेछ, जसमा सिक्किमले मेघालय, नागाल्याण्ड र मनिपुरसँग खेल्ने अवसर प्राप्त गरेको अध्यक्ष सुब्बाले अवगत गराए। उनले थप जानकारी गराए अनुसार २६ जनवरीदेखि रण्जी ट्रफी खेल पनि सिक्किमले नै आयोजना गर्ने अवसर पाएको छ। सो प्रतियोगितामा सिक्किमले नागाल्याण्ड र मेघालयसँग खेल्ने उनको भनाइ रहेको छ। राज्यका खेलाडीहरूलाई पनि राष्ट्रीयस्तरमा पुऱ्याएर राज्यको नाम रोशन गराउने उद्देश्यले हाल सिक्किम क्रिकेट एसोसिएसनले क्रिकेट खेललाई प्राथमिकता दिँदै आएको सुब्बाले बताए। सिक्किम राज्यबाट पनि सचिन तेन्दुल्कर र धोनीजस्ता खेलाडीहरू जन्मन सकोस् भन्ने ध्येयले हाल राज्यका खेलाडीहरूलाई विभिन्न प्रकारको सुविधा उपलब्ध गराउँदै आइरहेको उनले जानकारी गराए।










