कालचिनीः बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ रहेको लगभग ४६ वटा ज्वाइन्ट फरेस्ट म्यानेजमेन्ट कमिटी (जेएफएमसी) को आयोजना औ बक्सा ब्याघ्र प्रकल्पको सहयोगितामा बिहीबारदेखि सम्पन्न दुई दिवसीय फूटबल टूर्नामेन्ट खेलको शुक्रबार साँझ समापन भयो। बिहीबार हेमिल्टनगञ्ज रेञ्ज अन्तर्गत पर्ने लोथाबारीमा दुई दिवसीय फूटबल टूर्नामेन्ट खेलको उद्घाटन बक्सा ब्याघ्र प्रकल्पका एफडी, डीएफडी र विभिन्न रेञ्ज अधिकारी औ जेएफएमसी पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो भने यस क्रममा जेएफएमसीको पक्षबाट प्रायः ४० परिवारलाई टर्च लाइट वितरण पनि गरिएको थियो।
मूलतः वन्यजीव र मान्छेबीचको संघर्ष र आघातलाई सामान्य बनाउन र परोपकार र मिलन बढ़ाउन जेएफएमसीको पक्षबाट बर्षेनी यो खेल हुने गरेको लोथाबारी जेएफएमसीका अध्यक्ष अशोक कुजूरले जनाएका छन्। कार्यक्रममा उपस्थित बक्सा ब्याघ्र प्रकल्पको एडीएफओ पल्लव मुखर्जीले बक्सा ब्याघ्र प्रकल्पको पूर्व र पश्चिम डिभिजनका विभिन्न रेञ्ज क्षेत्रबाट आएका प्रायः १२ वटा फूटबल टीमबीत रोमाञ्चक खेल सम्पन्न भएको र जेएफएमसीको यो कार्यक्रम बीटीआरव्यापी भएको जनाएका छन्।
यता शुक्रबार साँझ समापन भएको फाइनल खेलमा निमती एफसी १ गोलले विजयी बनेको थियो भने सुनकोश एफसी उपविजेता बनेको आयोजक कमिटीको सचिव रवि मुर्मूले जनाएका छन्।










