गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टीमा प्रवेश गरेका भाइचुङ भोटियाले २०१९को चुनाउमा पवन चामलिङ नेतृत्त्वावधीन सरकारविरुद्ध परिवर्तनको शंखघोष गर्नु धोका भएछ भन्दै सिक्किमे जनतासमक्ष माफी मागेका छन्। दक्षिण सिक्किमको बर्फुङ समष्टिअन्तर्गत राभङला बजारमा बिहीवार आयोजित एसडीएफ पार्टीको सामेल कार्यक्रममा उपस्थित जनसमूहलाई सम्बोधन गर्दै उनले सिक्किमलाई बर्बाद गर्ने परिवर्तन ल्याएछौँ भन्ने मन्तव्य गरे।
आफूले फुटबल जगतबाट १६ वर्ष देशको सेवा गरेको बताउँदै भोटियाले अबउसो बर्फुङ समष्टिको सेवामा आफूलाई समर्पित गर्ने प्रतिबद्धता जाहेर गरे। भोटियाले एसकेएम सरकारमाथि तिखो निशाना लगाउँदै वर्तमान सरकारले सिक्किमेको अस्तित्त्व र चिनारी मेटाउन लागिरहेको आरोप लगाए। एसकेएम सरकारले पाँच वर्षमा सिक्किमलाई दश-पन्ध्र वर्ष पछाडि लगेको आरोप लगाउँदै उनले २०२४ मा एसडीएफ पार्टीलाई सत्तामा ल्याउन अति जरुरी रहेको बताए। उनले सिक्किमलाई एक अनुभवी नेताको खाँचो रहेको मन्तव्य गर्दै पवन चामलिङको नेतृत्त्वावधीन पार्टीले मात्र सिक्किमका जनताका हक-अधिकारहरू सुरक्षित राख्नसक्ने दाबी गरे।
उनले २०२६ मा सीमाङ्कन हुने भएकाले आगामी २०२४ को चुनाउ सिक्किमेका लागि अति महत्त्वपूर्ण छ भने। यदि २०२४ मा एसकेएम पार्टीलाई सरकारमा ल्याए राजाका समयका कानूनहरूसमेत मास्ने ठोकुवा गरे। भोटियाले एसडीएफ सरकारमा आए राभाङलालाई पर्यटन क्षेत्रमा पुनःविकसित गरेर लैजाने, राभाङमा एउटा महाविद्यालयको स्थापना गर्ने, सडकहरूको कार्पेटिङ गर्ने साथै खेल जगतको विकास गरेर बर्फुङ समष्टिका युवाहरूलाई राष्ट्रिय स्तरसम्म पुऱ्याउने प्रतिबद्धता जाहेर गरे।









