खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभामा पारित प्रस्तावलाई स्वीकार गरी पश्चिम बङ्गाल सरकार, बागवानी निर्देशनालयबाट २० नोभेम्बर २०२३ को दिन एक पत्र प्राप्त भएको छ, जसको मुताबिक जीटीए क्षेत्रभित्र रहेका चियाबगानका किसानहरूले अब उसो बागबानी विभागबाट सरकारी सहुलियतहरू पाउन सक्ने भए भनी जीटीए सभाका मनोनित सभासद एंव बागबानी विभागको एमओडी सभासद प्रणाम रसाइलीले जानकारी दिएका छन्। उनले बागवानी निर्देशनालयबाट आएको पत्रमा चियाबगान क्षेत्रको बागवानी किसानहरूलाई प्राकृतिक रूपमा हावायुक्त पोली हाउसको निम्ति चियाबगानबाट अनापत्ति पत्र दिइनु पर्ने निर्देशन गरिएको जानकारी गराएका छन्। यसबारे उनले अधिक जानकारी दिन्दै चियाबारी क्षेत्रमा पनि सबैले खेतीपाती गर्ने, फूलहरू रोप्ने गरेको देखिएको तर बागवानी विभागबाट सहुलियतहरू नपाईरहेको कारणले जीटीए चिफ् अनित थापाको पहलमा कोलकोतामा विभागीय अधिकारीहरूसित सभा बसेर यस विषयमा कुरा उठाइएको बताए। उनले २०२२ तिर नै कोलकोतामा यस विषयमा सभा बसिएको र अहिले आएर कोलकोताबाट पत्र आएर अब बागवानी विभागको सहुलियहरू चियाबारी क्षेत्रले पनि पाउने भएको बताएका छन्।










