एनडीए राष्ट्रपति उम्मेदवारको विजय समारोह विषय चर्चा गर्नु एक बैठक साथै जवानहरूको आत्मशान्तिको निम्ति दुई मिनट मौन धारण

IMG_20220720_230524.jpg

गान्तोक: राजधानी गान्तोकको सम्मान भवनमा आज राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) विधायकहरूको, मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा, एक बैठक बस्यो। यस बैठकमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई, सिक्किम विधानसभाका अध्यक्ष एवं उपाध्यक्ष, मन्त्रीगण, एसकेएम र भाजपाका विधायकगण, मुख्यमन्त्रीका राजनीतिक सचिव, प्रेस सचिव र पार्टी पदाधिकारीहरू उपस्थित थिए।

यस बैठकको मुख्य उद्देश्य आगामी २२ जुलाईमा एनडीएको राष्ट्रपति उम्मेदवार द्रौपदी मुर्मुको विजय समारोह विषय चर्चा गर्नु रहेको बताइएको छ। बैठकको शुरूमा आईआरबी जवानहरूको आत्मशान्तिको निम्ति दुई मिनट मौन धारण गरियो।

मुख्यमन्त्री तामाङले द्रौपदी मुर्मुको जीतको खुशी राज्यव्यापी रूपमा मनाउनु पर्ने र आआफ्नो ठाउॅंहरूमा रंगारंग सांस्कृतिक कार्यक्रमहरू आयोजन गर्नुपर्ने सुझाउ राखे। उनले राष्ट्रको सर्वोच्च कुर्सी एक आदिवासी महिलाले प्रतिनिधित्व गर्नु भनेको राष्ट्रकै नागरिकहरूको निम्ति गौरवमय क्षण रहेको बताए। मुख्यमन्त्रीले समारोह अवधि द्रौपदी मुर्मुको सामाजिक योगदानहरूलाई पनि प्रकाशमा ल्याउनु पर्ने सुझाउ राखे। उनले सिक्किमबाट शतप्रतिशत भोट एनडीए उम्मेदवारको पक्षमा गएको विश्वास व्यक्त गरे।

बैठकमा विजय समारोहहरू आयोजनका लागि कमिटीहरू पनि गठन गरियो। बर्फुङका विधायक टीटी भोटियालाई समारोह समितिको राज्य समन्वयक चयन गरिएको छ। यसरी नै मन्त्री अरुण उप्रेतीलाई गान्तोक जिल्लाको समन्वयक र उप मेयर छिरिङ पाल्देन भोटियालाई उप समन्वयक चयन गरिएको छ। पाकिम जिल्लाको निम्ति विधायक एम प्रसाद शर्मा समन्वयक, चेयरपर्सन सुनीता गजमेर उप समन्वयक, मंगन जिल्लाको निम्ति मन्त्री साम्डुप लेप्चा समन्वयक, जिल्ला पञ्चायत अध्यक्ष अंगुली लेप्चा उप समन्वयक, नाम्ची जिल्लाको निम्ति मन्त्री संजीत खरेल समन्वयक र विधायक राजकुमारी थापा उप समन्वयक, गेजिङ जिल्लाको निम्ति मन्त्री लोकनाथ शर्मा समन्वयक र एसकेएम नारी संयोजक सपना गुरूङ उप समन्वयक सोरेङ जिल्लाको निम्ति मन्त्री एमएन शेर्पा समन्वयक र विधायक सुनीता गजमेर उप समन्वयक चयन गरिएका छन्।

संघ सीटको निम्ति मन्त्री सोनाम लामालाई समन्वयक चयन गरिएको छ। यसरी नै मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङलाई प्रचार प्रसार समन्वयक र प्रेस सचिव बिकास बस्नेतलाई उप समन्वयक चयन गरिएको छ। एसकेएम युवा अध्यक्ष लाक्पा मोक्तानलाई युवा समन्वयक चयन गरिएको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement