२०२४ मा एसडीएफलाई सत्तामा फर्काइल्याउनु जनताका लागि आवश्यकः पवन चामलिङ

n55912245217007518252012c2abedac17aa014d7fd6d42aebbf2fe7abfed3403f2ea5e0c1b36d1483f4da2.jpg

गान्तोक: सिक्किमका पूर्व मुख्यमन्त्री तथा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अध्यक्ष पवन चामलिङले सत्तारूढ एसकेएम पार्टी राजनीतिक दल नभएर राजनैतिक आतङ्कवादीहरूको अखडा रहेको गम्भीर आरोप लगाएका छन्।

बिहिवार दक्षिण सिक्किमको राभाङ बजारमा आयोजित एसडीएफको समारोहलाई सम्बोधन गर्दै एसडीएफ अध्यक्ष चामलिङले सत्तारूढ एसकेएमलाई भ्रष्टाचारी र लुटेराहरूको गड़ रहेको पनि आरोप लगाए।

विगत साढ़े चार वर्षको कार्यकालमा एसकेएम सरकारले जनतालाई दिएको एउटै वचन पनि पूरा नगरेको तथा राजनैतिक आतङ्क मचाएर जनतामा अशान्ति फैलाउने काम मात्र गरेको चामलिङको आरोप छ। उनले साढ़े चार वर्षको एसकेएम कार्यकालमा जनताले शान्तिसित बाँच्न नपाएको, धेरै हत्या र हिंसा भएको, सिक्किमले कमाएको शान्तिको ब्राण्ड समाप्त भएको आरोप लगाउँदै 2024 मा एसडीएफलाई सत्तामा फर्काइल्याउनु जनताका लागि आवश्यक भएको बताए।

चामलिङले एसकेएमको सरकार अब केही महिनामात्र रहेको र त्यसपछि सिक्किमे जनताले एसडीएफको सरकार फर्काइल्याउनेछन् भन्ने दाबी पनि गरेका छन्। उनले एसकेएम सरकारमाथि गम्भीर आरोप लगाउँदै अहिलेसम्मको कार्यकालमा सिक्किमलाई २५ वर्ष पछाड़ि पारेको पनि आरोप लगाएका छन्।

उनले वर्तमान सरकारले सिक्किमेको पक्षमा एउटै पनि काम गर्न नसकेको आरोप लगाए। एसकेएम सरकार कालो धनको आढमा चलिरहेको पनि चामलिङले आरोप लगाए। सिक्किमको शान्ति सुरक्षा र ब्राण्ड फर्काइ ल्याउन जनताले एसडीएफमा मतदान गर्नुपर्ने आह्वान गर्दै भने, आउँदो चार महिनापछि सिक्किमको शान्ति र सुरक्षा फर्काइल्याउनेछौ।

उनले सरकारमा पैसा नरहेको तर ऋण र कालो धनमा एसकेएमका केही समर्थकहरूमात्र अपार सम्पत्ति कमाउने मौका पाएको आरोप लगाउँदै सिक्किमे जनताको स्थिति बेहाल भएको बताएका छन्। एसडीएफमा आजदेखि आधिकारिक रूपमा सामेल भएका भाइचुङ भोटिया लगायत अन्यलाई पार्टीमा स्वागत जनाउँदै पवन चामलिङले २०२४ को चुनाउको तयारीमा जुट्न पनि आग्रह गरे।

अर्कोतिर २५ वर्षको कार्यकालमा आफू र आफ्नो सरकारबाट केही गल्ती भएको भए जनताले माफी दिनेछन् भन्ने विश्वास गर्दै एसडीएफ सरकारले कुनै पनि अक्षम्य र जघन्य भूल भने गरेको थिएन भन्ने दाबी गरे। सरकार एकपल्ट जानु एसडीएफको लागि राम्रो भएको र जनताले अनुभव गर्ने अवसर प्राप्त गरेको दाबीका साथ पवन चामलिङले अब कुनै पनि परिस्थितिमा जनताले एसकेएमलाई भोट दिने छैनन् भन्ने किटान गरे।

यस अवसरमा उनले लिम्बू तामाङ समुदायको सिक्किम विधानसभामा सिट आरक्षणबारे एसडीएफ पार्टीको अडान र एसडीएफ सरकारले गरेका प्रयासहरूबारे पनि जानकारी गराए। उनले एसकेएमकै कारण लिम्बू तमाङले सीट पाउन नसकेको आरोप लगाए। उनले आउँदो चुनाउको निम्ति एसडीएफ पार्टीले गर्ने विभिन्न राजनैतिक घोषणाको सम्भावनाहरूलाई पनि आफ्नो सम्बोधनमा साझा गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement