गान्तोक: श्री सत्य साई सेवा समितिको पहलमा आज गान्तोकस्थित वज्रको साई मन्दीरमा साई बाबाको ९८औं जन्मउत्सव भव्यरूपमा पालन गरियो। यस अवसरमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकोरुपमा उपस्थित थिए। उनलाई साईका अनुन्यायीहरूले भव्य स्वागत जनाए। साई बाबाको जन्मोउत्सव २३ नोभेम्बरलाई राज्यमा रिस्ट्रीकटेड छुट्टीको रुपमा घोषणा गरेकोमा समितिले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई संबर्द्धना जनाए। राज्यभरिका विभिन्न साई मन्दिरहरूलाई राज्य सरकारको तर्फबाट सहयोग प्रदान गरेकोमा पनि राज्यका विभिन्न साई मन्दिर सञ्चालन समितिका सदस्यहरूले मुख्यमन्त्री तामाङलाई सम्मान जनायो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले भगवान साई बाबाको जन्मोत्सवको अवसरमा सबैलाई शुभकामना दिए। आफू सानैदेखि साई बाबाको भक्त रहेको पनि अवगत गराए। प्रत्यक्षरुपमा साई बाबासँग भेट गर्न नपाएपनि उनको शिक्षालाई सँधै आत्मसात गरेर आफू हिँड़ीरहेको उनले बताए। मुख्यमन्त्रीले साई बाबाले सिकाएको मार्गमा हिँड्नुपर्ने पनि परामर्ष दिए। यदि उनले सिकाएका शिक्षाहरूलाई आत्मसात गरेर हिँड़े सिक्किम एकदिन अवश्यै फुलको सुन्दर बगैचा बन्ने विश्वास व्यक्त गरे। आफूमा भएको सर्वस्वबाट केही अंश मानव सेवामा लगाउनु पर्ने पनि उनले सुझाउ दिए। मानव सेवाबाट प्राप्त हुने सुखद अनुभुति अन्य कुनै पनि थोकबाट नहुने विचार व्यक्त गरे। जनताले आफूलाई सरकार सञ्चालन गर्ने कुर्सीमा पुर्याएपछि आफुले पनि सिक्किमे जानताको सेवामा आवद्ध भइरहेको मुख्यमन्त्री तामाङले बताए। सूचना प्रविधिले प्रभावित वर्तमान युगमा बाल विकासको शिक्षा दिइरहेको निम्ति पनि मुख्यमन्त्री तामाङले साई समितिप्रति आभार व्यक्त गरे। यसले भोलिको सिक्किमलाई सुन्दर बनाउन सहयोग पुऱ्याउने बताए। आध्यामिक ज्ञान प्राप्त गरेका व्यक्तिहरू यदि भोलि सरकारको अंग भए कुनै पनि गरीब व्यक्तिले दुःख नपाउने पनि मुख्यमन्त्री तामाङले विश्वास व्यक्त गरे। साई समितिद्वारा राखिएको गुरूकुल स्कूलको निर्माण प्रस्तावलाई पनि मुख्यमन्त्री तामाङले स्वीकार गरे। चाँढ़ै सरकारले स्कूल निर्माण गरेर संचालनको निम्ति साई समितिलाई हस्तान्तरण गर्ने विश्वास दिलाए। यसका साथै आगामी वर्षदेखि साई बाबाको जन्मोत्व २३ नोभेम्बरलाई सरकारी विदाकोरुपमा मुख्यमन्त्री तामाङले घोषणा गरे। यसरी नै मुख्यमन्त्रीले राज्यभरिका विभिन्न साई मन्दिरहरूलाई पनि क्रमबद्धरूपमा सहयोग पुर्याउने घोषणा गरे। आध्यात्मिक शिक्षालाई आत्मसात गरेर सँधै अघि बढ़े मानिसले अवश्य पनि जीवनमा आत्मसन्तुष्टि प्राप्त गर्नसक्ने पनि मुख्यमन्त्री तामाङले विश्वास व्यक्त गरे।








