गान्तोक: एसडीएफ पार्टीले राजधानीमा बढ्दो खाना पकाउने ग्यास सिलिन्डरको संकटलाई लिएर राज्य सरकारको तीखो आलोचना घेरेको छ। एसडीएफले जनतालाई अत्यावश्यक वस्तु आपूर्ति गर्न सरकार विफल भएको आरोप पनि लगाएको छ।
एसडीएफले आज जारी एक प्रेस विज्ञप्तिमा भनेको छ, राजधानी गान्तोकमा लामो समयदेखि खाना पकाउने ग्यास सिलिन्डर अभावको समस्या जनताले झेलिरहेका छन्। सम्बन्धित निकायले आजसम्म ग्यास सिलिन्डर प्रशस्त रूपमा उपलब्ध गराउन सकेको छैन। त्यसैले ग्यास सिलिन्डरमा कालाबजारी भइरहेको छ।
उपभोक्ताहरूले प्रति सिलिन्डरको मूल्य तीन हजारसम्म भुक्तान गर्नु परिरहेको गुनासो आफुहरू समक्ष आइरहेको एसडीएफले दाबी गरेको छ। एसडीएफले यतिका समय बितिसक्दा पनि सरकारले उपभोक्ताहरूका लागि ग्यास सिलिन्डरको उचित प्रबन्ध गर्न नसक्नु खेदजनक ठहर गरेको छ।
एसडीएफले यस्तो गम्भीर समस्याप्रति सरकारको ध्यान आकर्षण गराउँदै प्रभावकारी ढङ्गमा सिलिन्डर ग्यास आपूर्ति प्रबन्ध चाँड़ो गरिदिन माग पनि गरेको छ। जनताका हरेक समस्याहरूको समाधान गर्नु सरकारको पहिलो दायित्व हो, तर एसकेएम सरकार आफ्नो दायित्व निर्वाह गर्न शतप्रतिशत विफल भइरहेको एसडीएफले आरोप लगाएको छ।










