गान्तोक: धर्मगुरू दलाई लामाको सिक्किम भ्रमण तयारीलाई लिएर दोस्रो चरणको बैठक आज राज्यका मुख्य सचिव भीबी पाठकको अध्यक्षतामा सम्पन्न भयो। टाशीलिङ सचिवालयमा सम्पन्न भएको सो बैठकमा उनको आगमनलाई लिएर विभिन्न पक्षमा विशेषगरी सुरक्षा र बस्ने व्यवस्थाका विषयमा छलफल भएको थियो। यसै क्रममा वरिष्ठ पुलिस अधिक्षक तेन्जिङ लोडेन लेप्चा, दलाई लामाको सहज भ्रमणलाई सहज बनाउन सबै ठाउँहरूमा तयारीहरूको रूपरेखा प्रस्तुत गर्दै विस्तृतरूपमा मुख्यसचिवलाई जानकारी गराए। आजको बैठकमा एआरसीका अध्यक्ष तेञ्जिङ गेलेक, पूर्व सचिव, विशेष पुलिस महानिर्देशक अक्षय सचदेवा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।










