गान्तोक: धर्मगुरू दलाई लामाको सिक्किम भ्रमणलाई लिएर युद्धस्तरमा तयारी चलिरहेको राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले जानकारी गराएका छन्। आज सम्मान भवनमा आयोजित एक कार्यक्रमबीच पत्रकाहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री तामाङले धर्मगुरू दलाई लामाको भ्रमणलाई लिएर राज्यले पहिलादेखि नै तयारी गरिरहेको अवगत गराए। उल्लेखनीय, गत अक्टोबर महिनामा उनी सिक्किम भ्रमणमा आउने तय भएको थियो। यसको निम्ति राज्य सरकारले सबै कुराको तयारी पनि गरिसकेको उनले जानकारी गराए। तर गत ४ अक्टोबरको दिन उत्तर जिल्लाको लोहनार्क झील परिसरमा बादल फाटेपछि राज्यमा उत्पन्न भएको समस्याले गर्दा उनको भ्रमण रद्द गरिएको मुख्यमन्त्रीको भनाइ रहेको थियो। तर अहिले स्थिति सामान्य बन्दै गएपछि भक्तजनको भावनालाई ध्यानमा राख्दै उनको पूनः आगमनको मिति तय गरिएको मुख्यमन्त्रीले बताए। उनले जानकारी गराए अनुसार राजधानीस्थित पाल्जर स्टेडियममा आगामी ११ दिसम्बरको दिन भव्य कार्यक्रम आयोजना गरिने भएको छ भने उक्त दिन एक राज्य र राज्य बाहिरका एक लाख भन्दा अधिक भक्तजनको बस्ने व्यवस्था पनि सरकारले प्रबन्ध गरिसकेको अवगत गराए।









