गान्तोक: देश स्वतन्त्र भएको ७५ वर्षको अवसरमा देशव्यापी रुपमा चलिरहेको आजादीका अमृत महोत्सवकाल अवधि हर घर तिरङ्गा कार्यक्रम पनि पालन गर्ने भएको छ। यसलाई ध्यानमा राख्दै आज राजधानीस्थित मनन केन्द्रमा मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थितिमा एउटा समन्वय कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा मुख्यमन्त्री सहित सिक्किम विधानसभा अध्यक्ष, उपाध्यक्ष, राज्यका मन्त्रीमणडल, विधायकगण, अतिरिक्त मुख्य सचिव, सचिवगण, मुख्यमन्त्रीका राजनीतिक सचिव लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्कृति विभागका सचिव कर्मा आर बोन्पोले हर घर तिरङ्गा कार्यक्रममाथि विस्तृत पावर पोइन्ट प्रस्तुत गरे।

समन्वय कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले देशप्रेम अनि देशप्रतिको जिम्मेवारीपन प्रदर्शन गर्नको निम्ति सम्पूर्ण सिक्किमेहरूलाई हर घर तिरङ्गा कार्यक्रम सुनौलो अवसर रहको बताए। सिक्किम भारत गणराज्यको २२औं राज्य भएपछि अन्य राज्यहरूको तुलनामा धेरै प्रगति गरिरहेको बताउँदै सिक्किमलाई यहाँसम्म ल्याइपुऱ्याउन योगदान दिने सबै पूर्व मुख्यमन्त्रीहरूलाई सम्झना गर्दै सम्पूर्ण सिक्किमेहरूको तर्फबाट धन्यवाद दिए। गत १७ जुलाईको दिन गृहमन्त्री अमित शाहको अध्यक्षतामा बसेको एउटा सभामा आगामी १३ अगस्तदेखि १५ अगस्तसम्म अनिवार्य रुपमा हरेक घरहरूमा भारतको राष्ट्रिय झण्डा लाउनुपर्ने निर्णय लिएको सबैलाई जानकारी गराउँदै यो कार्यक्रममा सबै सिक्किमे नागरिकहरूले भाग लिने आह्वान गरे। यसको साथै विभिन्न विभागहरूले यो कार्यक्रमलाई सुनिश्चित साथै सफलतापूर्वक आयोजन गर्नको निम्ति कार्य गर्ने पनि मुख्यमन्त्रीले निर्देशन दिए। अगस्त महिनाको पहिलो तारिखदेखिनै यो कार्यक्रमको थाल्नी गर्ने पनि मुख्यमन्त्री गोलेले सबैलाई निर्देशन दिए। यस अवधि राज्यको नयाँ पीड़िलाई देश स्वतन्त्रता गर्न हेतु लड़्ने वीर शहिदहरूको विरगाथा साथै भारत गणराज्यको पराक्रमको कथा अनि तिरङ्गा अनि देशप्रेमको महत्वबारे प्रकाश पार्दै विभिन्न कार्यक्रमहरूको पनि आयोजन गर्ने विभिन्न विभागलाई मुख्यमन्त्री तामाङले निर्देश दिए। मुख्यमन्त्री तामाङले सबै अधिकारीगण अनि आम नागरिकहरूलाई यो कार्यक्रम पर्वको रुपमा मनाउने आह्वान गर्दै यसको निम्ति इमान्दार हुने पनि आह्वान गरे।