दुईजना डाक्टर निलम्बित अनि सुपरिटेन्डेन्ट सरूवा
दार्जिलिङ: दार्जिलिङको अस्पतालमा गर्भवती महिलाको निधनलाई लिएर आज सीएमओएस अफिस दार्जिलिङमा उच्च स्तरीय बैठक सम्पन्न भएको छ। उक्त बैठकमा जीटीएको स्वास्थ्य विभागीय अधिकारीहरू, विभागीय सभासद, अस्पताल प्रशासन र मृतक महिला परिवार पक्ष उपस्थिति रहेको थियो। बैठक करिब ४ घण्टासम्म चलेको थियो। बैठकमा महिलाको मृत्युको जिम्मेवार २ जना डाक्टरहरूलाई कार्बाही गर्दै निलम्बित गरिने निर्णय लिइएको छ भने सुपरिटेन्डेन्टलाई सरुवा गरिएको बताइएको छ। यस घटनालाई लिएर उच्च स्तरीय समिति बनेको थियो र समितिले रिपोर्ट बुझाएपछि डाक्टरको गल्तीले मृत्यु भएको भन्ने बाहिर आएपछि आज यस्तो निर्णय गरिएको बताइएको छ। दुईजना डाक्टरहरू निलम्बित भएपछि मात्रै परिवार पक्षले महिलाको मृत देह लान राजी भएको जानकारी प्राप्त भएको छ।

जीटीए स्वास्थ्य विभागको सचिव सामदेन डुक्पा र जीटीए स्वास्थ्य विभागको कार्यकारी सभासद अरुण सिंग्चीले यो डाक्टरको गल्ती भएको र अस्पतालको भित्री व्यवस्था ठीक नभएको भन्दै छिट्टै व्यवस्था राम्रो हुने र हामीले उच्च स्तरीय समिति पनि गठन गरेको बताएका छन्। उनले यस घटनाको छानबीन गर्न अझ उच्च स्तरीय समिति गठन गरिएको बताए। त्यसरी नै चाँढै नै सम्पूर्ण जीटीए क्षेत्रको अस्पतालमा बिमाट्रिक फेरि सुरु हुने पनि बताएका छन्।









