गान्तोक: सिक्किम पुलिसले गत वर्षदेखि राज्यमा नशालु पदार्थको धन्दा गर्दै आइरहेकाहरूमाथि कडा निगरानी गर्दै आइरहेको छ। ड्रग्समुक्त सिक्किम बनाउने उद्देश्यले सिक्किम पुलिसले एक एक अभियान नै शुरू गरेको छ। यस अभियान अन्तर्गत हालसम्म ड्रग्सको धन्दामा लिप्त बनेकाहरूलाई पुलिसले कार्वाही गरिसकेको छ। यसै क्रममा आज मल्ली पुलिसले एक व्यक्तिलाई ड्रग्स सहित पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी जोरथाङ निवासी गौतम राईकोरूपमा पुलिसले चिन्हित गरेको छ। पुलिसले जानकारी गराए अनुसार आरोपी राईलाई मल्ली चेकपोस्टमा जाँचको क्रममा पक्राउ गरिएको हो। जाँच गर्ने क्रममा पुलिसले आरोपीबाट एकसय तीनवटा स्पास्मो प्रोक्सिवन क्याप्सुल फेला पारेको छ। आरोपी राईले उक्त ड्रग्स् एसके ०२-जे-०३४५ नम्बर वाहनको केरियरमा लुकाएर ल्याएका थिए। पुलिसले आरोपी राईविरूद्ध मल्ली थानामा सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।










