गान्तोक: राज्य सरकारले राज्यका मानिसहरू उपचार नपाएर सित्तैमा ज्यान गुमाउन नपरोवस् भन्ने उद्देश्यले मुख्यमन्त्री चिकित्सा सहायता योजना शुरू गरेका हुन्। यस योजना अन्तर्गत अहिलेसम्म धेरै मानिसहरूले लाभ उठाइसकेका छन्। विशेष गरेर क्यान्सर, किडनी, फोक्सो आदि रोगको उपचार राज्य बाहिर गरिने भएकोले उनीहरूलाई उक्त योजना अन्तर्गत सहयोग राशि प्रदान गर्दै आइरहेको छ। यसै क्रममा आज विभिन्न रोगले ग्रसित 35 जनालाई मुख्यमन्त्री प्रेम सिंह तामाङले आर्थिक सहयोग प्रदान गरे। उल्लेखनीय छ, एसकेएम पार्टी सरकारमा आएपछि राज्यका मानिसहरूको स्वास्थ्य सम्वन्धि गम्भीरता देखाउँदै विभिन्न प्रकारले सहयोग पुऱ्याउँदै आइरहेका छन्।

राज्य बाहिर गरिने उपचारको निम्ति मुख्यमन्त्री तामाङ स्वंयले रोगीहरूलाई आर्थिक सहयोग प्रदान गर्दै आइरहेका छन्। यसरी निरन्तर सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै आएपछि यसको लाभ राज्यका विरामीहरूले उठाइरहेका छन्। मुख्यमन्त्रीले सहयोगको हात बढाउँदै खुल्ला हृद्यले आर्थिक सहयोग पुऱ्याएकोमा विरामीका परिवारले मुख्यमन्त्रीलाई धन्यवाद दिँदै आभार प्रकट गरेका छन्।










