बाग्राकोट: बाग्राकोट उच्चतर माध्यमिक विद्यालय (बाउमावि)-ले टोटगाउँका टिस्टा बाढ़ पीड़ितहरूलाई आर्थिक सहयोग पुऱ्याएर एउटा उदाहरणीय कार्य गरेको छ। पश्चिम डुवर्सको जलपाइगढ़ी जिल्ला अन्तर्गत पर्ने टोटगाउँ गत ४ अक्टोबरको बिहान टिस्टा नदीमा आएको भीषण बाढ़का कारण डुबानमा परेको थियो। टिस्टाले आधा किलोमिटरभन्दा अधिक तेर्सो खेतीको भूभागलाई आफ्नो लपेटामा लिँदै सम्पूर्ण गाउँमा पानी पसेपछि टोटगाउँवासी कैयौँ रातसम्म गाउँ छोड़ेर अन्यत्र आश्रय लिनु परेको थियो। उल्लेखनीय छ, यस दुर्गम क्षेत्रबाट मात्र बाग्राकोट उच्चतर माध्यमिक विद्यालयमा ३५ भन्दा अधिक विद्यार्थीहरू पढ्न आउँछन्। गाउँमा बाढ़ पसेको लगत्तैपछि बाउमावि-का शिक्षकहरूले विद्यार्थी तथा गाउँवासीलाई सहयोगको हात बढ़ाएका थिए भने ‘बाग्राकोट दर्पण’-ले यस घटनालाई प्रशासन र आम जनताका सामु ल्याउन लगातार प्रत्यक्ष प्रसारण गरेको थियो।

सोमवार देउसीको अवसरमा पारेर टोटगाउँ पुगेका बाउमावि-का शिक्षक-शिक्षिकाहरूले गाउँवासीको उपस्थितिमा स्थानीय सामाजिक संगठन ‘टोटगाउँ-सुन्दरी गोर्खा कल्याणकारी समाज’-का अध्यक्ष भीमप्रसाद शर्मा, सह-सचिव विकास पोखरेल लगायत पदाधिकारीहरूलाई रुपियाँ हस्तान्तरण गरे। विद्यालयका प्रधानअध्यापक सागर शर्माले २७ हजार रुपियाँ संगठनका पदाधिकारीहरूलाई हस्तान्तरण गर्दै भने, ‘यो राशि बाढ़ आएकै एक-दुई दिनपछि विद्यालयका शिक्षक-शिक्षिकाहरूले प्रदान गरेका थिए। तर त्यसबेला अन्यतिरबाट पनि आवश्यक सहयोग भइरहेकोले हामीले यो राशि पछि हस्तान्तरण गर्ने निर्णय लियौँ, किनभने जीवन स्वाभाविक गतिमा फर्काउन आर्थिक मद्दत पछिसम्म पनि आवश्यक हुन्छ भन्ने हामीलाई लाग्योl’ स्वास्थ्य र शिक्षाको क्षेत्रमा यो धनराशि खर्च गर्न पनि उनले टोटगाउँवासीलाई आग्रह गरे। बाढ आएकै समय एउटा स्वास्थ्य सेवा कार्यक्रममा सहभागी हुन बाग्राकोट आइपुगेका सर्वोच्च न्यायालयका अधिवक्ता पी. निरूपले बाढ पीडितहरूका नाममा बाउमावि-लाई 10 हजार रुपियाँ प्रदान गरेका थिए। उनी स्वयं पनि बाढ प्रभावित क्षेत्रको भ्रमणमा पुगेका थिए अनि केही महत्त्वपूर्ण कानुनी सल्लाहहरू पनि दिएका थिए। यी सबै राशि मिलाएर विद्यालयले टोटगाउँका बाढ़ पीडितहरूलाई कुल २७ हजार रुपियाँ प्रदान गरेको हो। गाउँवासीको पक्षमा विद्यालयले लगातार देखाएको सदभावको निम्ति स्थानीय वासिन्दाहरूले विद्यालयका प्रधानअध्यापक तथा सम्पूर्ण शिक्षक-शिक्षिकागणप्रति आभार प्रकट गरेका छन्। स्थानीय संगठनका अध्यक्ष भीमप्रसाद शर्माले शिक्षकहरूले देखाएको यसप्रकारको मानवीय सहयोगको निम्ति समस्त गाउँवासीको तर्फबाट आभार प्रगट गरे। यसै अवसरमा ‘बाग्राकोट दर्पण’-का प्रबन्ध निर्देशक समीर मुखिया र प्रमुख सम्पादक अजय खड्कालाई पनि गाउँवासीको तर्फबाट सम्मान गरिएको थियो। संकटको घड़ीमा यो गाउँका लागि सहायता जुटाउन ‘बाग्राकोट दर्पण’-ले अनुकरणीय भूमिका निभाएको थियो।
उल्लेखनीय छ, विद्यालयको विभिन्न गतिविधि र विकासका लागि आर्थिक सहयोग जुटाउन बाग्राकोट उच्चतर माध्यमिक विद्यालयले भाइटीकाको भोलिपल्टदेखि लगातार देउसी खेलिरहेको छ, जसलाई बाग्राकोट सांस्कृतिक मञ्चले पनि सहयोग पुऱ्याइरहेको छ। टोटगाउँमा आयोजित देउसीमा चर्चित गायक विक्रम कालिकोटेले पनि कार्यक्रममा आफ्नो प्रस्तुति दिएर विद्यालयलाई सहयोग पुऱ्याएका थिए। बाढले उजाड़ बानएको गाउँमा पुगेर बाउमावि देउसी टोलीले देउसी खेलेपछि गाउँवासीलाई साँच्चै तिहार आएको जस्तो बोध भएको गाउँका बाल-बालिका, युवा तथा बुज्रुगहरूले गरेको रमाइलोबाट पनि बोध गर्न सकिन्थ्यो। टिस्टा नदी पसेर बालुवाले सेतै बनाएको गाउँमा बाउमावि-को देउसीले नयाँ उत्साह थपिदिएको बोध गर्न सकिन्थ्यो।








