कोलकाता: भारतीय जनता पार्टी (भाजपा) पश्चिम बंगाल इकाईका अध्यक्ष सुकान्त मजुमदारले सोमबार भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदी दिसम्बरमा कोलकातामा एक कार्यक्रममा उपस्थित हुन सक्ने सम्भावना छ, जसमा करिब एक लाख मानिसहरूले एकसाथ भगवद गीता पढ्नेछन्l’ मजुमदारले २४ दिसम्बरमा शहरको मध्यभागमा रहेको ब्रिगेड परेड मैदानमा ‘एक लाख गीता पाठ’ कार्यक्रम आयोजना गरिने जानकारी दिए। उनले भने, ‘हामीले प्रधानमन्त्री मोदीलाई कार्यक्रममा आउन आमन्त्रण गरेका छौं र उहाँले हाम्रो निमन्त्रणा स्वीकार गर्नुभएको छ। त्यस दिन एक लाख मानिसले एकसाथ भगवद् गीता वाचन गर्नेछन्।’ प्रदेश भाजपा प्रमुखले यो कार्यक्रम आयोजना गर्न धेरै धार्मिक समूहहरू एकजुट भएको बताए। मजुमदारले यो गैरराजनीतिक कार्यक्रम हुने दाबी गरे। मुख्यमन्त्री ममता ब्यानर्जी, राज्यपाल सी भी आनन्द बोस र राज्यका अन्य व्यक्तित्वहरूलाई पनि निमन्त्रणा पठाइनेछ। मजुमदारले भने, ‘यो कार्यक्रमको भाजपासँग कुनै सम्बन्ध छैन र हामीले आयोजना गर्दैनौं।’
सत्तारुढ दल तृणमूल कांग्रेसले यो कार्यक्रम २०२४ को लोकसभा चुनावलाई ध्यानमा राखेर रणनीतिक रूपमा आयोजना गरिएको दाबी गरेको छ। टीएमसीका प्रवक्ता कुणाल घोषले भने, ‘लोकसभा चुनाव नजिकिँदै गर्दा, भाजपा नेताहरूले राज्यको बारम्बार भ्रमण गर्नु स्वाभाविक हो। हामीले २०१९ लोकसभा चुनाव र २०२१ को विधानसभा चुनाव अघि यो प्रवृत्ति देखेका छौं। तर, यसबाट कुनै फाइदा हुने छैन।’ २०१९ लोकसभा चुनावमा भाजपाले राज्यका ४२ सिटमध्ये १८ सिट जित्यो भने टीएमसीले २२ सिट जित्यो। कांग्रेसले दुई सिट जितेको थियो।









