कालचिनी: कम्युनिटी पुलिसिङ अन्तर्गत अलिपुरद्वार जिल्ला पुलिसको तत्परतामा विभिन्न थाना क्षेत्रहरुमा मानव तस्करी, बाल विवाह, बाल श्रम, साइबर क्राइम एवम् अन्यान्य विषयहरुमाथि सचेतना कार्यक्रम गर्दै आईरहेको क्रममा आज कालचिनी थाना अन्तर्गत पर्ने अठियाबारी चियाबारीको कर्मतिर्थ भवनमा मानव तस्करीमाथि सचेतना कार्यक्रम सम्पन्न गरेको थियो।
आज उक्त अवसरमा कालचिनी थानाका एसआई प्रद्युत कुमार विस्वास लगायत अठियाबारीका समाजसेवी बान्टु चौधरी, एवम् अन्यान्य स्थानीय समाजसेवी औ मदर क्लबको सदस्यहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा गाउँबाट धेरै महिला, पुरुष लगायत केटा केटीहरु कुनै एजेन्टको सहारामा बाहिर काम गर्नु जाँदा यसको जाँच गाउँले पञ्चायत औ मुखियाहरुबाट थानामा जानकारी गराएर जाने निवेदन पुलिस अधिकारीहरुले गर्दै एजेन्टको चक्करबाट जतिसक्दो जोगिने आह्वान गरिएको थियो। प्रलोभनमा परेर कतै बाहिरतिर आफ्नो छोरी चेलीहरु नपठाउने अनुरोध पनि कार्यक्रममा गरिएको थियो।
आज सम्पन्न कार्यक्रम सम्बन्धमा कालचिनी थानाका एसआई प्रद्युत कुमार विस्वासले अलिपुरद्वार जिल्ला पुलिसको आयोजनामा लगातार कमान र बस्तीहरुमा मानव तस्करी लगायत साइबर क्राइममाथि सचेतना कार्यक्रम चलिरहेको र आज यसै क्रममा अठियाबारीमा यो शिविर सम्पन्न भएको बताउँदै आगामी २७ जुलाईको दिन निमती झोड़ा चियाबारीमा पनि यो कार्यक्रम सम्पन्न हुने जनाएका छन। यता कार्यक्रममा उपस्थित स्थानीय समाजसेवी बान्टु चौधरीले आज पुलिसद्वारा सम्पन्न कार्यक्रम सफल भएको र राम्रो सुझावहरु पुलिस प्रशासनले गाउँलेहरुलाई दिएको र यस मुताबिक गाउँलेहरु सजग भए एजेन्ट तथा दलालको चक्करबाट गाउँलेहरु मुक्त हुने बताएका छन।