मिस गुरुङ इन्टरनेशनलकी विजेतासहित सबै प्रतियोगी अभिनन्दित

n558222168170050377774121bc2c4df04769747072370344e316b3285c46d82c2339d88e1df128885d1c17.jpg

गान्तोक: नेपालको राजधानी काठमाण्डौंमा आयोजित मिस गुरुङ इन्टरनेशनल (सिजन ५) मा विजेता बनेकी जेरिना गुरुङसहित प्रतियोगितामा सहभागिता जनाएका सिक्किमका पाँचैजना प्रतियोगीलाई सिक्किम सरकारले अभिनन्दन जनाएको छ।

मुख्यमन्त्री कार्यालयद्वारा आज सम्मान भवनमा आयोजित अभिनन्दन समारोहमा सरकारको पक्षबाट मुख्यमन्त्री पीएस तामाङले अभिनन्दन जनाए। उनीहरू पाँचैजनालाई करियर निर्माणमा सहयोगका लागि सरकारले पाँच-पाँच लाख रुपियाँको सहयोग राशि पनि प्रदान गरेको छ।

जानकारी गराइन्छ, मिस गुरुङ इन्टरनेशनलमा सिक्किमबाट पाँचजनाले सहभागिता जनाएका थिए जसमा जेरिना गुरुङ विजयी बनेकी थिइन्। प्रतियोगितामा सोरेङको बुडीखोप निवासी करिना गुरुङ दोस्रो उपविजेता बनेकी थिइन् भने उनले मिस क्याटवाकको उपाधि पनि प्राप्त गरेकी थिइन्। मिस बेस्ट हेयरको उपाधि लाब्दाङकी पुनम गुरुङले, मिस पपुलर र मिस इन्टलेक्चुअलको दुईवटा उपाधि गेजिङको गुरुथाङ निवासी अनामिका गुरुङले र मिस फोटोजेनिकको उपाधि जोरथाङकी स्नेहा गुरुङले जितेका थिए।

गत १४ नोभेम्बर मल्लीमा आयोजित कार्यक्रम अवधि मुख्यमन्त्री तामाङसहित गुरुङ सङ्गठनले विजेता र सहभागी बनेका सबै प्रतियोगिलाई स्वागत जनाएको थियो भने आज प्रतियोगीहरूका अभिभावक र गुरुङ सङ्गठनका विशिष्ठ व्यक्तित्वहरूको उपस्थितिमा मुख्यमन्त्रीले पाँचै जनालाई सरकारको पक्षबाट अभिनन्दन जनाए।

यस अवसरमा अखिल गुरुङ तमु बौद्ध संघका अध्यक्ष सहित अन्य प्रतिनिधिहरू, सिक्किम गुरुङ एसोसिएशनका अध्यक्ष र अन्य प्रतिनिधि, गुरुङ समुदायका वरिष्ठ सरकारी कर्मचारी र समुदायका विशिष्ठ व्यक्तित्वको उपस्थिति रहेको थियो।

अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले मिस गुरुङ इन्टरनेशनलमा भाग लिएर सिक्किमका पाँचै जनाले कुनै न कुनै उपाधि जितेर आउनु राज्यवासीको निम्ति गौरवको विषय रहेको बताए। यस प्रतियोगिताको माध्यमबाट उनीहरूले एक्सपोजरको अवसर पाएका र उनीहरूद्वारा जितेको पुरस्कार करियर निर्माणका लागि महत्त्वपूर्ण माइखुट्टी बन्नसक्ने बताउँदै सबै प्रतियोगितालाई परिश्रम जारी राख्न सुझाउ दिए।

प्रतियोगीहरूले जितेको अन्तररराष्ट्रिय स्तरमा पुरस्कार जितेको पहिलो अवसरलाई जीवन्त बनाइराख्न सरकारले उनीहरूलाई अभिनन्दन जनाएको उनीहरूले पनि यो पहिलो जितलाई करियर निर्माणको मुख्य आधारका रुपमा स्वीकार गरेर अघि बढ्नुपर्ने आग्रह मुख्यमन्त्रीले गरे। विजेतासहित सबै पाँचैजना प्रतियोगितालाई सिक्किम सरकार, सिक्किमे जनता र आफ्नो व्यक्तिगत पक्षबाट बधाई दिंदै मुख्यमन्त्रीले प्रतिभाशाली युवा र विद्यार्थीलाई अघि बढ्न सरकारले हर सम्भव सहयोग पुऱ्याउनु जानकारी दिए।

सिक्किममा गरिबीका कारण कोहीपनि प्रतिभा मर्नुहुँदैन भन्ने सरकारको सोच रहेको र सहयोगको आवश्यक परेका विपन्न परिवारका प्रतिभाशाली कसैलाई पनि सरकारले अभिभावक बनेर हर सम्भव सहयोग पुऱ्याउने बताए। मिस गुरुङ इन्टरनेशनलका प्रतिभागीहरूलाई करियर निर्माणमा फोकस गर्न आग्रह गर्दै कुनैपनि समय आवश्यकता परे सरकार सहयोगका लागि तयार रहेको बताए।

यसै समारोहमा उपस्थित गुरुङ सङ्गठनका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले गुरुङका दुवैवटा सङ्गठनले राज्यका गुरुङकोको हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताए। दुवै सङ्गठनलाई सरकारले एकै नजरले हेरेको र उनीहरूले पनि एउटै सिक्काको दुई पाटा जस्तो भएर जातिको हितमा काम गर्नुपर्छ भन्ने मुख्यमन्त्रीले सङ्गठनका प्रतिनिधिहरूलाई आग्रह गरे।

एसकेएम सरकारको कार्यकालमा गुरुङ समुदायको निम्ति धेरै कार्य भएको उल्लेख गर्दै लामो समयसम्म निर्माण हुन नसकेको रोधीघर एसकेएम सरकारले गान्तोकको आरिथाङमा निर्माण गरिदिएको र नामथाङमा पनि रोधीघर निर्माण भइरहेको बताए। गान्तोकमा रोधीघर निर्माण हुनु गुरुङहरूले गौरव गर्नुपर्ने विषय रहेको मुख्यमन्त्रीले बताएका छन्।

उनले गुरुङ समुदायका प्रतिनिधिहरूलाई गुरुङ भाषाको विकास र भाषा शिक्षामा ध्यान दिन आग्रह गरे। गुरुङहरूले योग्य उम्मेदवार दिए गुरुङ भाषा पढाउने पीजीटी सरकारले नियुक्त गर्ने वचन दिए। यस अवसरमा बोल्दै सिक्किम सबै जात-जातिको सुरक्षा र विकासका लागि एसकेएम सरकार प्रतिवद्ध रहेको मुख्यमन्त्री तामाङले बताए।

अभिनन्दन समारोहमा बोल्दै मिस गुरुङ इन्टरनेशनलकी विजेता सहित अन्य सबै प्रतियोगीहरूले सहयोगका लागि सिक्किम सरकार, मुख्यमन्त्री, गुरुङ समुदाय र अन्य सबै सहयोगीहरूप्रति आभार व्यक्त गरे। समारोहलाई अखिल गुरुङ तमु बौद्ध सङ्घका अध्यक्ष र गुरुङ एसोसिएशन अफ् सिक्किमका अध्यक्षले पनि सम्बोधन गरेका थिए। उनीहरूले प्रतियोगीहरूलाई सहयोग र अभिनन्दनका लागि मुख्यमन्त्रीलाई धन्यवाद दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement