सोरेङ: सोरेङमा आज सोरेङ जिल्ला अन्तर्गत सहकारिता विभागको तत्वावधानमा ७०औं अखिल भारतीय सहकारिता सप्ताह २०२३ पालन गरियो। देशभरि नै १४ नोभेम्बरदेखि आरम्भ भएको सहकारिता सप्ताह कार्यक्रमको आज समापन भएको हो। भारत सरकारले सहकारिता आन्दोलनमार्फत देशको अर्थव्यवस्थालाई पाँच ट्रिलियन डलर बनाउने लक्ष्य राखेको छ भने उक्त अर्थव्यवस्था प्राप्तिको निम्ति सहकारी समितिहरुको भूमिकामाथि सप्ताहव्यापी देशभरि नै प्रतिदिन अलगअलग थीममा कार्यक्रम आयोजना भएको हो। समापन दिनको थीम सहकारी शिक्षण तथा प्रशिक्षण अनि पुनरुद्घार रहेको थियो। यसरी नै वर्तमानमा सहकारी समितिको विकास, गैर-ऋण सहकारीको पुनरुद्घार अनि वित्तीय समावेशन, सहकारी समितिको डिजिटलकरण हेतु प्रौद्योगिकीको अंगिकार, डज अफ् डुङिङ बिजनेस (व्यापार गर्नको लागि सुबिधा), सरकारी र निजी क्षेत्रमा सहकारीको भागिदारलाई मजबुत बनाउन र महिला, युवा र आर्थिक रूपमा विपन्न परिवारलाई आर्थिक मजबुत पार्न सहकारिताको भूमिका भन्ने विषय यस सप्ताहको प्रतिदिन थीम रहेको थियो। आज यहाँ आयोजित कार्यक्रममा सम्बन्धित सहकारिता विभागले सोरेङ जिल्लाका कुल 36 वटा ग्राम पञ्चायत एकाईमा सञ्चालित ३६ वटा बहुउद्देश्यीय सहकारी समितिका अध्यक्ष र प्रबन्धकहरुको उपस्थिति थियो।
आजको कार्यक्रममा जिल्ला पञ्चायत सदस्य अजय सुब्बा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। वहाँको साथमा परेङ गाउँकी पञ्चायत सभापति दावा फुटी शेर्पा, आरुबोटे-छोटा साम्दुङका पञ्चायत सभापति डीके सुब्बा, सोरेङ ग्राम पञ्चायत एकाईका पञ्चायत सदस्य टीबी सुब्बा, सहकारी विभागका डिप्टी रेजिस्टार आरएच सुब्बा, सिस्को बैंकका प्रबन्धन निरज शर्मा, सहकारी विभागका सेवानिवृत्त जोइन्ट रेजिस्टर डीआर शर्मा, सिस्को बैंकको पूर्व उपाध्यक्ष पीपी शर्मा, सहकारी विभागका एआरसीएस शिशिर गुरुङ, अडिट अफिसर याङ्चोट हाङ सुब्बा र सम्बन्धित सहकारी निरीक्षकहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा राज्यपाल र मुख्यमन्त्री पीएस गोलेद्घारा ७०औं अखिल भारतीय सहकारिता सप्ताहको अवसरमा जारी सन्देशको पनि पाठन गरियो भने सहकारी विभागले सोरेङ जिल्लामा पुनरुद्धार गरिएको अनि राम्रो प्रगति गर्ने दोदक बहुउद्देश्यीय सहकारी समितिलाई विभागले प्रोत्साहन स्वरूप नगद राशि पनि मुख्य अतिथि र विशिष्ट अतिथिको बाहुलीबाट प्रदान गरियो। कार्यक्रममा सहकारी सप्ताह पालन गर्न पछाडिको औचित्यमाथि जिल्ला पञ्चायत सदस्य अजय सुब्बा, सहकारी विभागका डिप्टी रेजिस्टार आरएच सुब्बा, सहकारी विभागका सेवानिवृत्त जोइन्ट रेजिस्टार डीआर शर्मा, अडिट अफिसर याङ्चोट हाङ सुब्बा, सिस्को बैंकका प्रबन्धक निरज शर्मा, सिस्को बैंकका पूर्व उपाध्यक्ष पीपी शर्मा र सोरेङ जिल्लाका सहकारी निरीक्षकहरुले मन्तव्य राखेका थिए। कार्यक्रमको बिचमा राखिएको अन्तरक्रिया सत्रमा बहुउद्देश्यीय सहकारी समितिका प्रतिनिधिहरुले आ-आफ्नो सुझाव र सल्लाहहरु राखेका थिए।









