अहमदाबाद: भारतीय टोली फेरि विश्व च्याम्पियन बन्नबाट बञ्चित भएको छ। रोहित शर्माको कप्तानीमा रहेको भारतीय टोली आइतबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा अस्ट्रेलियासँग पराजित भएको थियो। यो हारबाट पुरै टिम निराश बनेको छ। भारतले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको छ। यो टोली लगातार १० खेल जितेर फाइनलमा पुगेपनि उपाधि जित्न सकेको छैन। यो खेल हेर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि पुगेका थिए। भारतीय टोलीको हारपछि प्रधानमन्त्री मोदीले टिम इण्डियाको ड्रेसिङ रुममा खेलाडीहरूसँग भेट गरे र त्यस क्रममा फास्ट बलर मोहम्मद शमी आँसु झारे। शमी रोएको देखेर प्रधानमन्त्रीले उनलाई अँगालो हाले।
उनले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा तस्वीर पोस्ट गरेका छन् जसमा उनी रोइरहेको र प्रधानमन्त्रीले उनलाई अँगालो हालेको देखिन्छ। आफ्नो इन्स्टाग्राममा तस्वीरसँगै क्याप्शनमा शामीले प्रधानमन्त्रीलाई प्रोत्साहन दिन ड्रेसिङ रुममा आएकोमा धन्यवाद दिएका छन्। हार्दिक पाण्ड्याको चोटपछि भारतीय टोलीमा आएपछि शमीले उत्कृष्ट खेलेका थिए। शमीले यस प्रतियोगितामा कुल सात खेल खेलेका थिए र २४ विकेट लिन सफल भएका थिए। योसँगै उनी यस प्रतियोगितामा सबैभन्दा बढी विकेट लिने बलर बनेका छन्। यो विश्वकपमा उनले आफ्नो नाममा अर्को कीर्तिमान बनाए। शमी विश्वकपमा भारतका लागि सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्। शामी बाहेक टीम इण्डियाका अलराउन्डर रविन्द्र जडेजाले पनि ड्रेसिङ रुमको फोटो सेयर गरेका छन्। तस्वीरमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय टोलीका खेलाडीहरूसँग भेट गरिरहेका छन्। रविन्द्र जडेजाले तस्वीरसँगै लेखेका छन्, ‘यो हाम्रो लागि उत्कृष्ट प्रतियोगिता थियो तर हामीले हिजो मिस गर्यौं। हामी सबैको मन दुखेको छ, तर जनताको साथले हामीलाई अगाडि बढ्न उत्प्रेरित गरिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी हिजो हाम्रो ड्रेसिङ रुममा आएका थिए। यो धेरै विशेष र उत्साहजनक थियोl’









