सिलगढी: सांसद राजु बिष्टले केन्द्रीय सडक, परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीलाई एनएच-१० को चाँड़ो मरम्मत सुनिश्चित गर्नका लागि हस्तक्षेप गर्न अनुरोध गरेका छन्। मन्त्रीलाई दार्जीलिङ, कालेबुङ अनि सिक्किमका सिमाना क्षेत्रका लागि जीवन-रेखा रहेको राष्ट्रिय एनएच १० मरम्मतको कार्यमा व्यापक ढिल्याइँबारे जानकारी गराएको उनले बताएका छन्। गत महिना ४ अक्टोबरमा टिस्टा नदीमा अचानक आएको बाढ़ीले एनएच १० को कैयौँ हिस्साहरू बगाएको बारेमा उनले मन्त्रीलाई जानकारी गराएको सांसद राजु बिष्टले बताएका छन्। प्रेस विज्ञप्ति जारी गरेर उनले यसो भनेका छन्, ‘यस आपदाका ४५ दिन बितिसक्दा पनि सड़क सम्पर्क आंशिक रूपले मात्रै पुनर्स्थापित हुनसकेको छ। यस कार्यमा ढिल्याइँले गर्दा उत्पन्न प्रमुख समस्याहरूबारे मैले उहाँलाई (मन्त्रीलाई) अवगत गराएको छु। मैले उहाँलाई बताएँ कि ससाना वाहनहरू त पार हुन सकिरहेका छन् तर ट्र्क अनि बस जस्ता ठूला वाहनहरूको आवत-जावत हुन सकेको छैन। यसको परिणामस्वरूप हाम्रा सिमाना क्षेत्रमा खाद्य पदार्थ, ईन्धन अनि दैनिक आवश्यकताका वस्तुहरूको मूल्यमा व्यापक वृद्धि भएको छ। यसका साथै, राष्ट्रीय राजमार्गको मर्मत कार्यमा ढिल्याइँले गर्दा ट्रक ड्राइभरहरू साँगुरा पहाड़ी सड़कहरूमा वाहन चलाउन बाध्य भइरहेका छन् जसका कारण उनीहरूको जीवन जोखिमा परेको छ, साथै दुर्घटनाका मामिलाहरूमा बढ़ोत्तरी भइरहेको छl’
मन्त्री नितिन गडकरीलाई ०६ अक्टोबरमा सन्दर्भ संख्या डीएआरजे/जीएन/२१६४ रहेको पत्र पठाएर एनएच १० को पश्चिम बङ्गालको हिस्साको मरम्मत कार्य एनएचएआई वा एनएचआईडीसीएललाई दिनका लागि अनुरोध गरेको सांसद राजु बिष्टले बताएका छन्। विज्ञप्तिमा उनले भनेका छन्, ‘मलाई जानकारी गराइएअनुसार सडक मरम्मतको कार्यको केहि भागहरु एनएचआईडीसीएलले आफ्नो हातमा लिइसकेको छ। तसर्थ, मैले श्री नितिन गडकरीलाई एनएच १० को मरम्मत कार्य चाँड़ो सुनिश्चित गर्नका लागि हस्तक्षेप गर्न अनुरोध गरेको छुl’









