खरसाङ: शब्द समय सालबारीले यसको एकाई कार्यक्रमको साहित्यकार अर्जुन प्रधानको असामयिक निधनमा गहिरो शोक प्रकट गर्दै एक सभाको आयोजना गर्यो। वरिष्ठ साहित्यकार भविलाल लामिछानेद्वारा दिवङ्गत साहित्यकार अर्जुन प्रधानको तस्वीरमा धूपदीप प्रज्जवलन गरिएपछि दिवङ्गत कवि-चित्रकार सविता गोम्देनको तस्वीरअघि पनि धूप बालेर श्रद्धा अर्पण गरियो। त्यसपछि सभामा उपस्थित सबैले धूप प्रज्वलन अनि पुष्पार्पण गरे अनि दुई मिनटको मौन धारण गरेर दिवङ्गत साहित्यकार प्रधानको आत्मशान्तिको प्रार्थना गर्दै श्रद्धाञ्जली अर्पण गरे। सभामा कवि-समालोचक प्रा. डा. सञ्जय वान्तवाले साहित्यकार प्रधानको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारे। उनले भने, सर्जकहरू नश्वर जीवन त्यागेपछि कृति जीवनमा बाँचिरहन्छन्। साहित्यकार अर्जुन प्रधान शरीरले बितेर जानुभए पनि उहाँका कृतिहरूमा, उहाँबाट अर्जन गर्न पाइएका अनुभवहरूमा र सम्झनाहरूमा उहाँ सदैव बाँचिरहनुहुनेछ। डा. वान्तवाले साहित्यकार अर्जुन प्रधानको व्यक्तित्व र कृतिहरूको चर्चा गरे। उनले भने, नागरी फारममा जन्मेका प्रधानले स्कूले शिक्षामात्र घरबाट धाएर गरे भने त्यसपछि एम.ए. सम्मको शिक्षा र डिग्रीहरू उनले स्वअध्ययनबाट अर्जन गरेका थिए। अर्जुन प्रधान चियाबारीको परिवेशमा रूमलिएका थिए अनि त्यहाँको जीवन बाँचेका थिए। डा. बान्तवाले अर्जुन प्रधान सरसित गुरु शिष्यको सम्बन्ध रहेको जनाए। उनले भने, उहाँले पढ़ाउँदा कहिले पैसा लिनु भएन। उहाँ कहिले रिसाउनुभएको थाहा छैन। कुनै विद्यार्थीलाई तँ भनेर पनि सम्बोधन गर्नुभएन। डा. बान्तवा बताइरहेका थिए, प्रधान सत्तरीको दशकदेखि नै साहित्यिक सिर्जनशीलतामा जोड़िनुभएको थियो। काव्य, समालोचना, नाटक, गीत आदि लेखनमा उहाँको कलम चलेको छ। उहाँ विनयशील लेखक। समालोचना र समीक्षा गर्दा कुनै सर्जकलाई निरूत्साहित गर्ने वा हतोत्साहित बनाउने उहाँको लेखन थिएन। उहाँ सर्जकहरूका प्रेरक व्यक्तित्व हुनुहुन्थ्यो। डा. बान्ववाले भने, मान्छेको जन्म र मृत्युमा मृत्यु भव्य हुनुपर्छ भन्ने मलाई लाग्छ अनि साहित्यकार प्रधानले त्यस्तै भव्य मृत्यु वरण गरेर जानुभयो। डा. बान्तवाले प्रधानको अन्तिम प्रकाशित कृति ‘संज्ञान’-मा आफूले केही कुराहरू लेख्न पाएकामा सन्तोष व्यक्त गर्दै भने, यो कृतिमा हामी गुरू शिष्य एक ठाउँमा हुन पायौं। उसै गरी वरिष्ठ कवि-कथाकार भविलाल लामिछानेले साहित्यकार प्रधानको निधनबाट हामीले एक अभिभावक गुमाएका कुरा उल्लेख गर्दै उनीसित आफ्नो सम्बन्धका कुराहरू राखे। उनले भने, साहित्यकार प्रधान असमिया भाषाको पनि राम्रो ज्ञाता थिए। आफू दुई भेट्दा असमियामा नै बात गर्ने गरेका कुरा उनले जनाए। कवि लामिछानेले भने, नेपाली साहित्यमा खड़ेरी परेको समालोचना विधामा कलम चलाएर साहित्यकार प्रधानले ठूलो कार्य गरेका छन्। वरिष्ठ कवि मोहन ठकुरीले साहित्यकार अर्जुन प्रधानले लेखेका विभिन्न पुस्तकहरूबाट टिपोट लिएर सभामा राखे। उनले भने, साहित्यकार अर्जुन प्रधानका एक्काइसवटा कृतिहरूमा एघाह्रवटा समालोचना विचारका कृतिहरू हामीले पाएका छौं। उनको अन्तिम कृति ‘ ‘संज्ञान’-को चर्चा गर्दै उनले भने, साहित्यकार प्रधानले ‘संज्ञान’-मा सबैलाई सम्झेका छन्। कतै यो उनलाई आफ्नो अन्तिम क्षणको पूर्वाभाष त थिएन? वरिष्ठ कवि-अध्येता-चिन्तक ज्ञानेन्द्र खतिवड़ाले बताए, भारतमा समीक्षकहरूको साह्रै अभाव छ। यस विधामा कलम चलाएर साहित्यकार प्रधानले धन्यको काम गरेका छन्। उनीबाट हामीले एघाह्रवटा समालोचनाका पुस्तक पाउनु धेरै ठूलो कुरो हो। उनी कुनै पनि कुरोलाई लगनशील भएर लिने गर्थे। उनले शब्द समयलाई उत्तिकै माया गरेका हुन्। आफ्नो जीवनको अन्तिम समयमा पनि उनले शब्द समयको निम्ति आफ्नै हातले चार पृष्ठमा लेखेर देवकोटामाथि रचना तयार गरी हामीलाई दिएका दिएका थिए। यसबाट हामी शब्द-समयप्रति उनको माया अनुमान गर्न सक्छौं। ओन लाइन पत्रिका ‘दार्जीलिङ टक्स’-का सम्पादक शैलेन्द्र समदर्शीले सभा सञ्चालनको क्रममा साहित्यकार प्रधानबारे विविध जानकारीमूलक कुराहरू बताइरहेका थिए।

उनले सभाको आरम्भमा साहित्यकार अर्जुन प्रधानले शब्द समयको निम्ति लेखेर पठाएका महाकवि देवकोटामाथिको आलेख सम्पूर्ण पठन गरेर सुनाएका थिए। युग्मककार कालूसिंह रनपहेंलीले साहित्यकार अर्जुन प्रधानप्रति श्रद्धाञ्जलीस्वरूप ‘ ‘अक्षरको मृत्यु हुँदैन’ शीर्षकको स्वरचित कविता पठन गरेका थिए। उनैले धन्यवाद ज्ञापन गरेपछि यो शोक सभा समाप्त भयो। सभामा वरिष्ठ कथाकार मणिकुमार प्रधान, वरिष्ठ कवि लीलबहादुर सुनार, वरिष्ठ कवि हेमन्त काफ्ले, शब्द समयका कर्मठ सदस्य कवि पूर्ण मंगर, गोम्देन टी-बारका स्वामी अनन्त गोम्देन आदिको विशेष उपस्थिति रहेको थियो।










