‘परिचय साहित्य उत्सव २०२३’ उडिसामा भारतीय नेपालीभाषी तीनजना साहित्यकारहरू सहभागी

IMG-20231120-WA0166.jpg

खरसाङ: देशभरिका विभिन्न भाषाभाषी डेढ सयभन्दा अधिक साहित्यकारहरूको सहभागिता रहेको ‘परिचय साहित्य उत्सव २०२३’ उडिसामा भारतीय नेपालीभाषी साहित्यकारहरूले पनि आफ्नो प्रस्तुति दिएका थिए। ‘प्रयास’ भुवनेश्वरको आयोजनामा सम्पन्न यस कार्यक्रम ‘परिचय’को दोस्रो संस्करण ‘परिचय साहित्य उत्सव-२०२३’मा नेपाली भाषाको प्रतिनिधित्व गर्दै साहित्यकार उदय थुलुङ, योगिता राई अनि सञ्जीव छेत्री सहभागी बने।

उडिसाको भुवनेश्वरस्थित जनगुरू केलुचरण मोहपात्रा डान्स एकाडेमीमा १८ अनि १९ नोभेम्बरका दिन विभिन्न चरणका कार्यक्रम सम्पन्न भएको थियो। तीमध्ये स्रष्टाको मातृभाषामा कविता वाचन, विभिन्न रचना वाचन साथै अन्तरक्रिया कार्यक्रम रहेका थिए। पहिलो दिनको कार्यक्रम साहित्य अकादेमी नयाँ दिल्लीका अध्यक्ष माधव कौशिकको अध्यक्षतामा सम्पन्न भएको थियो भने दोस्रो दिनको कार्यक्रम साहित्य अकादेमी नयाँ दिल्लीका सचिव के. श्रीनिवास रावको अध्यक्षतामा सम्पन्न भएको थियो। पहिलो दिनको कार्यक्रममा रचना वाचनका साथै ‘नारी स्रष्टाका लेखनमा नारीवाद’ विषयमा योगिता राईले भाग लिइन् भने दोस्रो दिन रचना वाचनका साथै स्रष्टा उदय थुलुङले ‘अनुवाद अनि यसको सामाजिक पहुँच’ विषयमा सम्पन्न परिचर्चा कार्यक्रममा भाग लिएका थिए।

यस अतिरिक्त उक्त दिन उद्घाटन सत्रमा स्रष्टा/अनुवादक उदय थुलुङद्वारा नेपालीमा अनुदित उडिया काव्यकृति ‘प्रियतमा’ पनि विमोचित गरियो। यस कृतिका रचयिता उडिया भाषाका वरिष्ठ साहित्यकार फनी मोहान्ती हुन। युवाहरुलाई उचित अवसर अनि बाटो देखाउने प्रयासका रुपमा शुरु गरिएको पहल ‘प्रयास’ले देशव्यापी रुपमा कार्यक्रम गरिरहेको जानकारी प्राप्त भएको छ। उक्त कार्यक्रमको पहिलो दिन रचना वाचनमा नेपाली भाषामा सञ्जीव छेत्रीले पनि सहभागिता जनाएका थिए। ‘प्रयास’ का संस्थापक उडिसाकी सामाजिक कार्यकर्ता डा रोजालिन पटसानी मिश्रा अनि प्रियदर्शी मिश्राको पहलमा साहित्यिक कार्यक्रम ‘परिचय साहित्यिक महोत्सव’ गत वर्ष कोलकातादेखि शुरु गरिएको थियो भने यस वर्ष दोस्रो संस्करण उडिसामा सम्पन्न भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *