काठमाडौं: अन्तर्राष्ट्रिय महिला फिल्म फेस्टिभलको तेस्रो संस्करण हुने भएको छ। महिला पत्रकारको छाता संस्था इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन (आईवार्ट)को नेपाल शाखाले महोत्सव गर्न लागेको हो। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नवम्बर २५ चलचित्र विकास बोर्डको हलमा फेस्टिभलमा आयोजना हुनेछ। महिला फिल्म निर्मातालाई प्रोत्साहित गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागेको आईवार्ट नेपाल च्याप्टरकी अध्यक्ष इच्छा गुरुङले बताइन्। फेस्टिभलमा देश तथा विदेशका महिला फिल्म निर्मात्री सहभागी हुनेछन्। सोही दिन नेपाली लघु फिल्म प्रतिस्पर्धा समेत आयोजना गरिनेछ। फिल्म क्षेत्रमा रहेका रचनात्मक सोच भएका महिलालाई फेस्टिभलले प्रोत्साहित गर्ने फेस्टिभल निर्देशक संगीता श्रेष्ठले बताइन्।










