कालचिनीः बिहारी तथा भोजपुरी समुदायको महान पर्व छठ पूजाको आइतबार प्रथम अर्घ्य छठ श्रद्धालुहरूले चढ़ायो। आइतबार यस अवसरमा कालचिनी बासरा घाट सेवा समितिको आयोजनामा छठ पूजाको उद्घाटन विशिष्ट अतिथिहरूको करकमलबाट सम्पन्न गऱ्यो। बासरा घाटमा यस अवसरमा आइतबार प्रमुख अतिथिको रुपमा अलिपुरद्वार जिल्ला परिषदका सभाधिपति स्निग्धा साइबो विशिष्ट अतिथिहरूमा समाजसेवी बिरेन्द्र बारा उराँव, हैदर अली अन्सारी, शंकर कुजूर, जिल्ला परिषद सदस्य भारती महली एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
प्रत्येक बर्षझैँ यसपाली पनि बासरा घाटमा प्रायः ४०० भन्दा अधिक श्रद्धालुहरूले सुर्य देवलाई जल चढ़ाएर पूजा गरेको थियो।
आज छठ पूजाको प्रथम दिनमा बासरा नदीको घाटमा विशेष तामझामको व्यवस्था गरिएको र आमन्त्रित अतिथिहरूको करकमलबाट दीप प्रज्वलन गर्दै पूजा घाटको उद्घाटन गरिएको कालचिनी बासरा घाट सेवा समितिको संयुक्त सचिव चन्चल दास र जोगेन्दर प्रसाद साहले जनाएका छन्। यता छठ व्रती महिलाहरूले छठ केवल आस्थाको प्रतिक मात्र नभएर यो एउटा रमाइलो मिलन पर्व पनि रहेको जनाएका छन्।
अर्कोतिर आइतबार कालचिनी खण्डको भारत भोटाङ सीमान्त जयगाउँ संलग्न तोर्सा नदीको घाटमा पनि छठ पूजाको पालन धुमधामसित भएको र घाटमा रमाईलो मेलाको पनि आयोजना गरिएको बताईएको छ। यसरी नै दलसिंहपाड़ा तोर्षा नदीको घाटमा र हाँसीमारा तोर्षा नदीको घाटमा पनि झिलीमिली बत्तीको रंगमा छठ घाटमा पूजा सम्पन्न भएको सम्बन्धित कमिटीका सदस्यहरूले जनाएका छन्।