खरसाङ: खरसाङ महकुमा अन्तर्गत घैयाबारीको लोवर गैरी गाउँस्थित सार्वजनिक भवनमा भूतपर्व सैनिकहरूको संगठन कारगिल एनजीओ र रेयुकाईको आठौं शाखा सिलगढीको संयुक्त आयोजनामा रेयुकाईको संस्थापक काकुतारो कुबोजीको ८०औं श्रध्दाञ्जली कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम घैयाबारीके वरिष्ठ नागरिक जयबहादुर राईको अध्यक्षता र डा करण विश्वकर्मको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा रेयुकाईको आध्यात्मिक कार्यक्रमसितै न्यान कम्बल वितरण कार्यक्रम पनि सम्पन्न भएको छ। पहिलो विश्वयुध्दपछि काकुतारो कुबोजीले सन् १९२०मा रेयुकाईको स्थापना गरेका थिए। रेयुकाईले विश्वमा शान्ति स्थापनाको लागि कार्य गर्दै कार्य गरिरहेका छन्। यसै क्रममा आज कारगिल एनजीओ घैयाबारीको सहयोगमा घैयाबारीमा रेयुकाईको कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमलाई कारगिल एनजीओको भूतपूर्व सैनिक रमेश प्रधानले सञ्चालन गरेका थिए। कार्यक्रममा स्वागत सम्भाषण कारगिल एनजीओको उप सभापति भूतपूर्व सैनिक हेमराज गुरुङले राखेका थिए। कार्यक्रममा रेयुकाईको शिक्षा र अनुभवहरू विषयमा भूतपूर्व सैनिक एंव रेयुकाईको सदस्य अशोककुमार गुरुङ, बाघडोगराबाट आएका बिक्रम आले, सिक्किमकी जशमीन इकाक अादिले वक्तव्य राखेका थिए। कार्यक्रममा रेयुकाई विषयमा रेयुकाईको अन्तर्राष्ट्रीय संयोजक नेपालका नारायणप्रसाद पाण्डेले आफ्नो सम्बोधनमा रेयुकाई कुनै धर्म होइन तर असल कर्म गर्ने माध्यम हो भन्दै रेयुकाईले नमस्कार, धन्यवाद र माफी माग्ने जस्ता असल कुरा सिकाउने गरेको बताए। उनले
विशेष गरेर शिक्षासित प्रविधिलाई जोड्नु पर्ने र युवाहरूका लागि रोजगारको अवसर सिर्जना हुने बताउँदै शिक्षा, शीप र प्रविधिलाई प्रयोग गरेर रोजगारी बनेर खुशी हुन सकिने बताएका छन्। उनले शिक्षाले मानिसलाई कर्मयोगी बनाउने बताउँदै घैयाबारी क्षेत्रको लागि शिक्षा, स्वास्थ्य र शीप विषयमा कार्य गर्ने घोषणा पनि गरे। पाण्डेले अघि भने, हामीले पूर्वजहरूलाई सदैव आदरसाथ सम्झना गर्नुपर्छ, किनभने पूर्वजहरूको कारणले नै हामी यहाँ छौं। त्यसैले पूर्वजहरूलाई सम्झना गर्नुपर्छ।’

कार्यक्रममा रेयुकाई भारतको सदस्य सालिग रामले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा प्रमुख अतिथि डा करण विश्वकर्मले आफ्नो वक्तव्यमा रेयुकाई कुनै धर्म नभएर प्रेम, सत्भावना शान्ति फैलाउने गरेको बताए। उनले सबैलाई एक आपसमा प्रेम गर्ने आह्वान् पनि गरेका थिए। कार्यक्रममा घैयाबारी क्षेत्रका गरीब परिवारहरूलाई जाड़ोमा ओड्ने 150 न्यानो कम्बलहरू वितरण गरिएको थियो। यस कार्यक्रममा घैयाबारी लगायत रेयुकाईको सदस्यहरू नेपाल, बिहार साथै तीनधारे, महानदी, जोगमाया, सिलिमहिल, सिविटार, मालुटार, सिमरिङ आदि स्थानहरूबाट मानिसहरू उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा ठाकुर विश्वकर्म, नारायण प्रसाद पाण्डे, घैयाबारीको गुरुजी अमर लामा, घैयाबारी तीन ग्राम पञ्चायतको उप प्रधान केवल राई, पञ्चायत सदस्य महेश छेत्री लगायत अन्यहरू उपस्थित रहेका थिए।

कार्यक्रममा नानीहरूले नृत्यहरू पनि प्रस्तुत गरेका थिए। रेयुकाईको उक्त कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै कारगिल एनजीओको उप सभापति एंव रेयुकाईको सदस्य हेमराज गुरुङ अनि सचिव गणेश तामाङले विस्तृत रूपमा बताएका छन्।











